Like us!
Follow us!
Connect us!
Watch us!

कोशी कोरिडोर विद्युत प्रसारण लाइन सम्पन्न, २ हजार मेगावाट बिजुलीको सहज वितरण हुने

अर्थ संसार

बुधबार, २० असोज २०७८, १७ : ३० मा प्रकाशित

कोशी कोरिडोर विद्युत प्रसारण लाइन सम्पन्न, २ हजार मेगावाट बिजुलीको सहज वितरण हुने

२२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारण लाइन (इनर्वा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ । धनकुटाको हिलेमा बुधबार एक समारोहको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारण लाइन हस्तान्तरण गरिएको छ ।

१०६ किमि लामो कोशी कोरिडोर विद्युत प्रसारण लाइन १०.४ अर्ब रुपैयाँ (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोगअन्तर्गत प्रसारण लाइनको निर्माण भइरहेको छ ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेरु ४.५ अर्ब (३७.३ मिलियन अमेरिकी डलर) लागतमा परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई प्राधिकरणलाई हस्तान्तरण गरिएको हो । बाँकी दुई वटा प्याकेजको निर्माण सम्पन्न भएपछि सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २ हजार मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्नेछ ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले भारतीय दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सो परियोजना हस्तान्तरण गरेको छ । खम्पाले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिवद्ध रहेको बताइन् ।

समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको