Like us!
Follow us!
Connect us!
Watch us!

गल्छी–रसुवागढी सडकको ४५ प्रतिशत काम सम्पन्न

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १३ : ०८ मा प्रकाशित

गल्छी–रसुवागढी सडकको ४५ प्रतिशत काम सम्पन्न

गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ४५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच वर्षअघि सडक निर्माणसहित मर्मतको काम सुरु गरिएको सडकको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको हो । 

२०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा भारतको एकाधिकार व्यापार हटाउन उत्तर चीनसँग पनि व्यापार बढाउन तत्कालीन मन्त्रीपरिषदले गल्छी त्रिशुली मैलुङ रसुवागढी सडक स्तरोन्नति गर्ने निर्णय गरेको थियो  । 

२०७३ देखि ५ मंसिर २०७८ सम्म ५ वर्षमा गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर सडक स्तरोन्नति गर्ने भनिएको थियो । सडक स्तरोन्नतिको काम सम्पन्न हुने लक्ष्यको समय सकिन लागेको छ । तर, समयमै काम सम्पन्न नहुने देखिएपछि असार २०८० सम्ममा स्तरोन्नतिको काम सम्पन्न गर्ने गरि संशोेधन भएको छ । 

दुई वर्षमा स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य रहे पनि जग्गा प्राप्तिमा विवाद लगायतका कारण कामले गति लिन नसकेको गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका तत्कालीन प्रमुख नारायणदत्त भण्डारीले बताए । 

हालसम्म समग्र ४५ प्रतिशत काम सम्पन्न भएको उनले बताए । उनका अनुसार हालसम्म ८२ किलोमिटरमध्ये २५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न भएको छ ।  ५७ किलोमिटर कालोपत्रेको काम अझै बाँकी छ ।

त्यसैगरी, ३२ वटा पक्की पुल निर्माण गर्नुपर्नेमा हालसम्म ८ वटा पक्की पुल निर्माणको अन्तिम चरणमा छ । २४ वटा पक्की पुल निर्माण गर्न बाँकी छ । त्यसैगरि फ्लाइओभर निर्माण, रकसेट निर्माण, नेटआर्ट निर्माण, फुटपाथ निर्माण अझै बाँकी छ । 

त्यसैगरी, पहिरो रोकथामका कार्यहरू गर्न अझै बाँकी रहेको बताइएको छ । त्यसैगरी, २ हजार ५ सय कित्ता जग्गा अधिग्रहण गर्नुपर्नेमा करिब १ हजार ६ सय कित्ता जग्गा अधिग्रहण गरिएको गल्छी त्रिशुली रसुवागढी सडक योजनाले जनाएको छ । 

योजनाका तत्कालीन प्रमुख भण्डारीका अनुसार स्थानीय प्रशासनले तीन महिनाभित्रमा अधिग्रहणको जग्गा प्राप्त गरिसक्ने भनेको थियो । जग्गा प्राप्ति ऐन २०३४ को दफा २५  प्रयोग गरी प्रमुख जिल्ला अधिकारीले जग्गा प्राप्त गर्न सक्नेछ । जग्गा प्राप्त गर्न तीन महिनामा सक्ने गरि धादिङ, नुवाकोट र रसुवाका सिडियोलाई निर्देशन पनि दिइएको थियो । तर, तत्कालीन सिडियोहरूले जग्गा प्राप्ति ऐन २०३४ को दफा २५ नलगाई दफा १३ अनुसार साधारण जग्गा प्राप्ति ऐन लगाउँदा कामले गति लिन नसकेको हो । भण्डारीले भने, ‘जनताले पैसा पाएपछि जग्गा दिने भए, सबै प्रक्रिया पुर्याएर काम गर्दा कामले गति लिन सकेन् ।’  

त्यसैगरी, बिजुलीका पोलहरू समयमा नसार्नु, अदालतको स्टे अर्डरका कारण कालले गति लिन नसकेको उनको भनाइ छ । अदालतको स्टे अडरका कारण अझै पनि ६ किलोमिटरमा काम गर्न नपाएको उनले बताए ।  कोरोना महामारी, वर्षायामका कारण, रसुवा नुवाकोटको भौगोलिक अवस्था कमजोर भई पहिरो जानु लगायतका कारण पनि कामले गति लिन नसकेको उनले बताए ।  

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रुपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्मको  सडक स्तरोन्नतिको काम गर्नका लागि तीन खण्डमा विभाजन गरेर काम भएको छ । पहिलो खण्ड गल्छीदेखि मैलुङ, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेशी र तेस्रो खण्ड स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको रहेको छ । 

हालसम्म पहिलो खण्ड अन्तर्गत ७० प्रतिशत काम सम्पन्न भएको बताइएको छ । दोस्रो खण्ड अन्तर्गत २० प्रतिशतकाम सम्पन्न भएको छ । तेस्रो खण्ड अन्तर्गत काम सुरु हुन सकेको छैन् । तेस्रो खण्ड चीन सरकारको सहयोगमा चिनियाँ पक्षले नै सडक निर्माण गरिदिने बताएको छ । तर, चिनियाँ पक्षले हालसम्म काम सुरु गरेको छैन । नेपाली पक्षले घर टहरा, बिजुलीका पोल लगायत सबै प्रक्रिया पूरा गरेपछि मात्र काम अघि बढाउने बताएको छ । नेपाली पक्षले बिजुलीका पोलहरू सार्ने काम सम्पन्न गरिसकेको छ । तर, चिनियाँ पक्ष निर्माण स्थलमा आएको छैन् । भण्डारीका अनुसार नेपाली पक्षले गर्ने काम हेर्ने हो भने ६० प्रतिशत काम भइसकेको छ । 

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट नेपालको राजधानी जोड्ने सबैभन्दा छोटो दूरीको हुने गरि सडक स्तरोन्नतिको काम भएको भण्डारीले बताए ।  यो एसियाली मापदण्डको सडक रहेको समेत उनले बताए । यो सडकको चौडाइ ११ मिटरको छ । यो सडकको डिजाइन गति ६० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । सडक सीमा ३० मिटर छ । २० अर्बको लागतमा स्तरोन्नति हुने गल्छीदेखि स्याफ्रुबेसीसम्मको सडकको हालसम्म ९ अर्ब खर्च भइसकेको जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको