Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो, निक्षेप २० अर्बले घट्यो

पत्रपत्रिका

बुधबार, १० कार्तिक २०७८, ०६ : २२ मा प्रकाशित

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो, निक्षेप २० अर्बले घट्यो

बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै २० अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिकको पहिलो साता कुल निक्षेप नै रू. १९ अर्ब ५२ करोडले घटेको छ । गत असोज मसान्तसम्म बैंकहरूसँग कुल ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ५ गतेसम्म आउँदा त्यो घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ । दशैंपछि बैंकहरूमा थप नयाँ निक्षेप नआएको देखिएको छ ।

दशैंअघि सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन् । दशैं सकिएपछि भने खर्च गरेर बाँकी रहेको पैसा, दक्षिणाबापत आएको पैसा बैंकमा नै जम्मा गर्ने गरिन्छ । यसै आधारमा दशैंपछि निक्षेप संकलन बढ्ने बैंकहरूको अपेक्षा थियो । तर, उल्टो भएको कुल निक्षेप नै घटेको छ ।

असोजयता बैंकहरूको निक्षेप उत्साहपूर्ण रूपमा नै बढेको थियो । तर, कात्तिकमा आएर त्यसमा ब्रेक लागेको छ । सरकारले खर्च नगर्दा असोजको पहिलो सातासम्म निक्षेप संकलन हुन सकेको थिएन । अहिले सरकारले खर्च गर्न शुरू गरेसँगै निक्षेप पनि बढ्न थालेको थियो । तर, कात्तिकमा आएर सरकारको खर्च पनि घटेको छ ।

तथ्यांकअनुसार यस अवधिमा विदेशी मुद्राको निक्षेप ह्वात्तै घटेको छ । यो अवधिमा यस्तो निक्षेप १५ अर्ब ५७ करोडले घटेको छ । स्वेदशी मुद्राको निक्षेप भने ४ अर्ब ५४ करोड रुपैयाँले घटेको छ ।

गत असोज मसान्तसम्म १ खर्ब ५० अर्ब रुपैयाँ रहेको विदेशी मुद्राको निक्षेप अहिले १ खर्ब ३५ करोडमा झरेको छ । असोज मसान्तसम्म ४१ खर्ब १७ अर्ब रुपैयाँ रहेको स्वदेशी मुद्राको निक्षेप अहिले ४१ खर्ब १३ करोडमा सीमित भएको छ ।

बैंकहरूले आफूसँग भएको विदेशी मुद्राको डिपोजिट अर्काे बैंकमा राखेर ब्याज आम्दानी गर्दै आएका थिए । तर, राष्ट्र बैंकले हालै त्यसमा रोक लगाएको छ । फलस्वरूप विदेशी मुद्राको निक्षेपमा कमी आएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘बैंकहरूले आफूसँग भएको निक्षेप अर्काे बैंकमा राख्दो मल्टीपल रूपमा निक्षेप गणना हुन्थ्यो ।

तर, त्यसमा रोक लगाएपछि अहिले खुद निक्षेप मात्रा गणना गरिएको छ, फलस्वरूप विदेशी मुद्राको निक्षेप घट्न गएको हो,’ उनले भने ।

निक्षेप संकलनमा ह्रास आउँदा त्यसको सोझो असर कर्जा प्रवाहमा परेको छ । बैंकहरूले असोज मसान्तसम्म उच्च मात्रामा कर्जा प्रवाह गर्दै आएका थिए । तर, कात्तिकको पहिलो सातामा कर्जा प्रवाह नै हुन सकेको छैन । यस अवधिमा कुल कर्जा प्रवाह नै ६३ करोड रुपैयाँले घटेको तथ्यांकमा उल्लेख छ ।

असोज मसान्तसम्म बैंकहरूले रू. ३९ खर्ब ९८ अर्ब २२ करोड कर्जा प्रवाह गरेका थिए । कात्तिकको पहिलो सातामा आउँदा त्यो ३९ खर्ब ९७ अर्ब ५९ करोड मा सीमित भएको छ । दशैंपछि कर्जाको माग कम नै हुन्छ । तर, यसपालि मागभन्दा तरलता अभावका कारण कर्जा प्रवाहमा प्रभाव परेको बैंकरहरू बताउँछन् ।

बैंकिङ क्षेत्रमा गत साउनदेखि नै तरलता अभावको समस्या थियो । तर पनि कर्जा प्रवाह भने उच्च नै थियो । तर, कात्तिकमा आउँदा बैंकहरू थप कर्जा प्रवाह नै नगर्ने अवस्थामा पुगेका छन् ।

तरलताको अभाव भए पनि बैंकहरूले गत आवमा ब्याकअप पूँजीबाट ऋण लगानी गरिरहेका थिए । असोजसम्म आउँदा त्यस्तो पूँजी पनि सक्किएको छ । फलस्वरूप अहिले बैंकहरू कर्जा प्रवाह नै गर्न नसक्ने अवस्था रहेको केही बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो पनि ८९ दशमलव २३ प्रतिशत छ । बैंकहरूले बढीमा ९० प्रतिशत सीडी रेसियो कायम गर्नुपर्ने हुन्छ । त्यसैले अहिले बैंकहरू कर्जा प्रवाह गर्न नै नसक्ने अवस्थामा पुगिसकेको बताइन्छ ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले समग्रमा बैंकहरूमा नयाँ कर्जा प्रवाह दिन सक्ने अवस्था कम नै रहेको बताए । ‘केही बैंकहरू कर्जा दिने सक्ने अवस्थामा छन् भने केही बैंकहरू कर्जा दिन नसक्ने अवस्थामा पनि छन । समग्रमा भने बैंकहरूलाई थप कर्जा प्रवाह गर्ने विषयमा गाह्रो नै हुने स्थिति देखिन्छ ।’

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको