Like us!
Follow us!
Connect us!
Watch us!

सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, १६ : ५९ मा प्रकाशित

सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

मुलुकको अति दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापना पश्चात् दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्धि हुने भएको हो । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो (कात्तिक ११ गते, बिहीबार)  १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।  

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने देखिन्छ । 

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ । यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सहज हुनेछ । 

विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा गरिएको छ ।                                   

                                                                                                                    
                                                                                                   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको