Like us!
Follow us!
Connect us!
Watch us!

कसरी घटाउन सकिन्छ किशोरकिशोरीको ‘स्क्रिन टाइम’?

अर्थ संसार

आइतबार, २१ कार्तिक २०७८, १५ : ३७ मा प्रकाशित

कसरी घटाउन सकिन्छ किशोरकिशोरीको ‘स्क्रिन टाइम’?

हालै मात्र अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’मा ‘इन्स्टाग्रामले कसरी किशोर-किशोरीको मानसिक स्वास्थ्यमा असर पार्छ’ भन्ने विषयमा एउटा लेख छापिएको थियो । विशेष गरी इन्स्टाग्रामको समेत स्वामित्व रहेको फेसबुकले गरेको अध्ययनअनुसार अत्यधिक फेसबुक साइट चलाउने किशाेरकिशोरीमा दृश्यको समस्या देखिएको थियो। यसका साथै उनीहरू डिप्रेसन, खानपानमा अरुचिजस्ता समस्याको जोखिममा रहेका थिए।

किशोरकिशोरीको मानसिक स्वास्थ्य बिगार्न के सामाजिक सञ्जालको प्रयोग आफैंमा गल्ती हो त ? कतिपय अध्ययनले यो सुझाव दिन्छन् कि सूक्ष्म तस्बिर प्रयोग गरिँदा स्क्रीन टाइममा आउने समस्या निक्र्योल गर्न गाह्रो हुन्छ। यस्तै, सामाजिक सञ्जालसँग सम्बन्धित अन्य कारक जस्तोः साइबर बुलिङ, सामाजिक पृथकताजस्ता विषयवस्तुले पनि किशोरकिशोरीलाई असर पुर्‍याएको देखिन्छ। 

अहिलेका निचोड प्रायः समयको ‘एकल बिन्दुको डाटा’मा आधारित हुन्छन्, जसबाट विस्तारित स्क्रिन समयले वास्तवमा मानसिक स्वास्थ्यको अवस्था नाजुक हुन्छ भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।  

किशोरकिशोरीमा गरिएको अन्तर्राष्ट्रिय अध्ययनबाट प्राप्त निष्कर्षले यो बहसलाई थप जोड दिनुका साथै स्क्रिन प्रयोगका लागि सम्भावित गाइडलाइनतर्फ निर्देशित गर्छ । युरोप र उत्तर अमेरिकाका ४२ देशका ५ लाख ७७ हजारभन्दा बढी किशोरकिशोरीमाथि केन्द्रित गर्दै फेसबुकले गरेकाे अध्ययनको नतिजाले हानिकारक अवस्थामा नपुग्दासम्म थोरै समय स्क्रिममा बस्दा चिन्ता लिनु नपर्ने देखाएको छ ।

अध्ययनका लागि अनुसन्धाताले सन् २००६, २०१० र २०१४ गरी चार वर्षमा ठूलो परिमाणमा सर्भे गरेका थिए । ११ वर्षदेखि १५ वर्ष उमेरका किशोरकिशोरीलाई आफ्नो खाली समयमध्ये कति नियमित स्क्रिनमा जस्तोः टिभी, टिभी, युट्युब भिडियो, गेम, सामाजिक सञ्जाल, साथीभाइसँग च्याटिङ र इमेल र इन्टरनेट सर्फिङमा बिताउँछन् भनी सोधिएको थियो ।

यसका साथै उनीहरूले साताको कति दिन स्क्रिनमा समय बिताए, आफ्नो जिन्दगीसँग उनीहरू कति सन्तुष्ट छन् र मानसिक स्वास्थ्य कस्तो छ भनी विवरण लिइएको थियो । कतिपटक उनीहरुले भावनात्मक रूपमा निरीह महसुस गरे, चिडचिडाहट, रिस र नर्भस बन्ने स्थिति कस्तो रह्यो भनी सोधिएको थियो । उनीहरुलाई निदाउन कतिपटक गाह्रो भएको थियो, चक्कर, टाउको दुख्ने, पेट दुख्ने र ढाड दुख्ने समस्या कस्तो थियो भन्ने जानकारी पनि लिइएको थियो ।

विश्लेषणले के देखायो भने थोरै समय स्क्रिनमा रहने किशोरकिशोरीको निरोगितामा कुनै असर देखिएन । 

एक घन्टाभन्दा कम स्क्रिनमा बिताउने केटीहरू र ९० मिनटभन्दा कम स्क्रिनमा बिताउने केटाहरूमा त्यस्तो नकारात्मक असर देखिएन । तर, स्क्रिनमा धेरै समय बिताउने किशोरकिशोरीहरूको सन्तुष्टि लेभल एकदमै तल रहेको थियो । उनीहरू जीवनप्रति कम खुसी हुनुका साथै उनीहरुले बिताएको समय व्यर्थमा खर्च भएको थियो । दैनिक १ सय ५ मिनटभन्दा बढी स्क्रिनमा बिताउने केटाहरु वा दैनिक ७५ मिनेट स्क्रिनमा व्यस्त रहने केटीहरुको मानसिक स्वास्थ्य भने खराब रहेको पाइएको थियो ।

युनिभर्सिटी अफ क्विन्सल्यान्ड, अस्ट्रेलियासँग आबद्घ अनुसन्धानमूलक लेखका मुख्य लेखक असादुजजामन खानका अनुसार यी निचोडहरुले यसअघि अमेरिकन पेडियाट्रिक सोसाइटीद्वारा जारी किशोरकिशोरीले दैनिक दुई घन्टाभन्दा बढी स्क्रिनमा बस्नुहुन्न भन्ने गाइडलाइनलाई आत्मसात गरेको छ ।

‘यदि दैनिक स्क्रिनमा बस्ने समय त्यो भन्दा बढी भएमा मानसिक स्वास्थ्यसँगको सम्बन्ध घातक हुन्छ,’ उनी भन्छन् । 

अर्कोतर्फ, अध्ययनअनुसार नियमित रुपमा कसरत गर्ने किशोरकिशोरीले जीवनप्रति सन्तुष्टि व्यक्त गरेका थिए भने थारै कसरत गर्नेले शारीरिक समस्याका साथै गुनासा व्यक्त गरेका थिए । त्यति मात्र होइन कि किशोरकिशोरीले जति समय स्क्रिनमा बिताए पनि यदि नियमित कसरत गरेको खण्डमा बढी समय स्क्रिनमा बस्दा पनि त्यति धेरै समस्या आउँदैन ।

किशोरकिशोरीको ‘वेल बिइङ’मा सुधार ल्याउन दुई खालका दृष्टिकोण अपनाउनुपर्ने खानको भनाइ छ ।

‘यदि हामी उनीहरुको मानसिक स्वास्थ्य सुधार गर्न चाहन्छौं भने हामीले दुईवटा व्यवहार परिवर्तन गर्नुपर्छ-पहिलो, स्क्रिन समय घटाउने र दोस्रो, शारीरिक गतिविधि बढाउने,’ खान भन्छन्, ‘यदि हामीले खाली एउटा व्यवहारलाई मात्र लक्षित ग¥यौं भने यसले अर्को अवसर गुम्न सक्छ ।’

अध्ययनमा संलग्न एक वा दुई घन्टामात्र स्क्रिनमा समय बिताउने र सातै दिन सक्रिय रहने केटाहरुले जीवनमा अत्यधिक सन्तुष्टि भएकोबारे विचार राखेका थिए। त्यसैगरी, दैनिक कसरत गर्ने केटीहरुका लागि एक घन्टाभन्दा स्क्रिनमा बिताउने समय उपयुक्त रहेको थियो। आमाबाबुले आफ्ना छोराछोरीलाई स्क्रिन समय घटाएर बढी कसरतमा जोड दिन प्रोत्साहन दिनुपर्छ ।  अभिभावकले अनलाइन टुल प्रयोगमा ल्याउनुपर्छ, जसले स्क्रिनमा लिमिट कटेर चाहिनेभन्दा बढी समय बस्यो भने अटोमेटिक त्यसको जानकारी आउँछ । 

कोभिड–१९ पछि अधिकांश किशोरकिशोरी अनलाइनमा निर्भर रहने अवस्था सिर्जना भएको छ। यस्तो बेलामा अनलाइन प्लेटफार्मलाई निक्कै बुद्धि पुर्‍याएर उपयोग गर्नुपर्छ। आमाबाबुले रोल मोडलको भूमिका निर्वाह नगरेसम्म किशोरकिशोरीलाई केही कुरा लाद्न नसकिने उनको भनाइ छ । 

‘यदि म नेटफ्लीक्स हेरिरहेको छु भने मैले बालबच्चालाई बाहिर गएर विभिन्न क्रियाकलाप गर भन्न सकिँदैन,’ उनी भन्छन्, ‘आमाबाबु र बालबच्चा मिलेर एकसाथ काम गर्नुपर्छ र स्क्रिन टाइमलाई विस्थापित गरेर कसरी ‘ग्रीन टाइम’ बनाउने भन्नेबारे पहिचान गर्नुपर्छ ।’ 

यसका लागि उनीहरुलाई प्रकृतिसँग निकट रहन अभ्यस्त बनाउनुपर्छ । घरनजिकैको चौरमा हिँडडुल, खेलकुदमा सहभागिता आदिले यसमा मद्दत गर्न सक्छ । कम्तिमा सातामा एक दिन आसपासको जंगल क्षेत्रमा हाइकिङ तथा वनजंगल र वातावरणबारे जानकारीले पनि उनीहरुमा रुपान्तरण ल्याउन सक्छ । यसको समग्र उद्देश्य किशोरकिशोरीले स्क्रिनमा बिताउने अधिकांश समय प्रकृतिसँगको सामीप्यतामा बिताउनु भन्ने रहेको छ । 

किशोरकिशोरीको ‘वेल बिइङ‘मा सुधार ल्याउन स्कुलले पनि मद्दत गर्न सक्छन् ।

कोभिडपछि प्रायःजसो स्कुल डिजिटल टुलमा अत्यधिक निर्भर रहे र बाहिरी शारीरिक क्रियाकलापलाई त्यति महत्व दिएनन् । किशोरकिशोरीले स्कुलसम्म साइकलमा आउनेलगायत शारीरिक कसरतलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्छ । ‘गो ग्रिन’जस्ता वातावरणीय अभियानमा उनीहरुलाई सहभागी बनाएमा स्क्रिन टाइमको असरबाट जोगाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको