Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगा–मुग्लिन सडक सुधार र विस्तारको प्रक्रिया अघि बढ्यो

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १३ : ०९ मा प्रकाशित

नागढुंगा–मुग्लिन सडक सुधार र विस्तारको प्रक्रिया अघि बढ्यो

काठमाडौं उपत्यका भित्रिने/बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो । 

झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुंगा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो । 

विभिन्न प्याकेजमध्ये कुनै मूल्यांकन त कुनै मूल्यांकन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए । नागढुंगा–नौबिसे र नौबिसे–मलेखुमा आवेदनका लागि आगामी मंसिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्यांकन भइरहेको छ । 

उनले भने, ‘अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ ।’ नौबिसे–नागढुंगा, नागढुंगाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जानकारी दिएको छ । सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ । डेढदेखि दुई महीनामा गरिसकिने बताइएको छ ।

सडक विभागले सोही सडकमा जोडिने मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जानकारी दिएको छ । 

यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए । पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ । उनले भने, ‘सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ ।’ सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ । कतिपय स्थानमा पुल बाङ्गो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताए । 

सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ । दुर्घटना कम गर्नेसँगै सडक निर्माण पछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए । 

अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जानकारी दिएको छ । निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ । सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनर्निर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताए ।

कानूनीलगायतका अरु समस्या नआएमा ठेक्का प्रक्रिया टुंगो लागे पनि निर्माण शुरु गर्न लामो समय नलाग्ने उनको भनाइ छ ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए ।  

सडकसँगै पुलको निर्माण र सुधारलाई जोड दिइएको योजनाले जानकारी दिएको छ । नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए । चार ठाउँमा रहेका पुल रेखांकन परिवर्तन गरिने उनले बताए । अरु ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्को पनि थपिनेछ । उनले भने, ‘पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ ।’

काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ । नागढुंगामा सुरुङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको