आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका छन् । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारेका छन् ।
संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर पाण्डेले संस्थाको कारोबार वृद्धिसँगै कर्जाको गुणस्तरीयतामा जोड दिँदै लगानीकर्ता, ग्राहक सदस्यहरु तथा संस्थामा कार्यरत कर्मचारीहरु समेत लाभान्वित हुने गरी कार्य गर्न सुझाव दिएका छन् ।
साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
संस्थाले अन्य ईजाजत–पत्र प्राप्त घ बर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (Memorendum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने/गाभिने वा प्राप्ती सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायत आर्थिक वर्ष २०७८/७९ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा श्री के.एम.यु. एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको छ ।
यसका साथै साधारण सभाबाट संथापक शेयरधनीको तर्फबाट सञ्चालकमा निर्गुण प्रसाद भट्टचन, प्रदिप कुमार खड्का, सुसन शेरचन र कविता पोख्रेल निर्विरोध निवार्चीत भएका छन् । साथै यसै दिन बसेकाे सञ्चालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस