Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आह्वानमा किन ढिलाई, के रेटिङ हकप्रदका लागि हो ?

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १६ : २३ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आह्वानमा किन ढिलाई, के रेटिङ हकप्रदका लागि हो ?

लाभांश घोषणा गरेको ४ महिना बितिसक्दा पनि नेपाल पुनर्बीमा कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छैन । सामान्यत कम्पनीहरुले लाभांश घोषणा गरेको केही दिनमा नै कम्पनीको साधारण सभा आह्वान गर्ने गर्छन् । तर कम्पनीले लाभांश घोषणा गरेको यति लामो समय बितिसक्दा समेत बुकक्लोज र साधारण सभाको मिति सार्वजनिक नगर्दा आम लगानीकर्ताहरु अहिले अन्योलमा परेका छन् । 

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीकाे १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ समेत ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो तर बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरी हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

"लाभांश घोषणा गरेको पनि ४ महिना नै बितिसक्यो अब कहिले बुकक्लोज गरेर, कहिले साधारण सभा गर्ने र कहिले खातामा पठाउने हो यसरी कम्पनीहरुले जे मन लाग्यो तेही त गर्नु भएन नी । लाभांशको लोभमा त्यो बेला सेयर किनियो अब कहिलेसम्म होल्ड गर्नुपर्ने हो थाहा छैन ।" कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ता अर्चना घिमिरेले भनिन् । उनले थपिन्, "यदी साधारण सभाको टुङ्गो नै थिएन भने किन लाभांश घोषणा गर्नु कम्पनीले घोषणा गर्दैमा लगानीकर्ताहरुले लाभांश पाउने हैनन् त्यसैले यथासक्य छिटो कम्पनीले हामीलाई लाभांश वितरण गरोस् त्यही हो ।"

बजारमा अहिले कतिपय लगानीकर्ताहरूले भने कम्पनीले हकप्रदको प्रस्तावसहित साधारण सभा आह्वान गर्ने तयारी गरेकाले पनि साधारण सभा बाेलाउन केही ढिलाई भएको तर्क गर्छन् । "सरकारी स्वामित्वको कम्पनी हो सञ्चालक समितीको बैठकले मात्र निर्णय गरेर पनि हुँदैन त्यसैले अर्थमन्त्रालयबाट हकप्रदको स्विकृति पाउनमा केही ढिलाई भएको कारण पनि कम्पनीले साधारण सभा बोलाउन ढिला गरेको बताउँछन् एक लगानीकर्ता । अहिले कम्पनीको २८ देश भन्दा बढी देशमा व्यापार सञ्जाल फैलिएको छ अब यसको विकास र विस्तारको लागि पनि पुनर्बीमा कम्पनीले पुँजी विस्तार गर्नु अपरिहार्य नै छ त्यसैले पनि ढिलो चाँडो कम्पनीले हकप्रद जारी गर्ने उनको विश्वास छ । 

लाभांश घोषणा गरेको ४ महिनासम्म पनि किन कम्पनीले साधारण सभा बोलाएन भन्ने प्रश्नमा पुनर्बीमा कम्पनीका प्रवक्ता दामोदर भण्डारीले भने, "अबको ८ देखि १० दिन भित्रमा हामी साधारण सभाको सुचना प्रकाशन गर्ने तयारीमा छौँ छिट्टै तपाईँहरुले खबर पाउनुहुनेछ ।"

कम्पनीले के हकप्रदकै लागि ईक्रा रेटिङ गरायको हो त भन्ने प्रश्नमा भण्डारीले भने, "हकप्रदकै लागि भनेर रेटिङ गराएको त होईन तर यदी आवश्यकता पर्यो भने त्यसका लागि समेत प्रयोग हुन सक्ला तर हकप्रदकै लागि रेटिङ गराएको भने होईन ।"

कम्पनीले २०७६ साल चैत्र ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरले १ करोड ६० लाख कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गरेको थियो । कम्पनीले १ करोड ६० लाखमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीको लागि, ८ लाख कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीकाे आइपीओमा रीतपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ६ सय ३८ जनाले सेयर प्राप्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको