नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (साउनदेखि चैतसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणले कम्पनीको नाफा तथा बीमाशुल्क आर्जन दुवैमा सकारात्मक प्रगति देखाएको छ।
समीक्षा अवधिसम्म कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो। यसरी नाफा ६.२९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
कम्पनीको सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ पुगेको छ। सोही अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ३७ करोड ८८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७४ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको असार मसान्तसम्म स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ थियो।
कम्पनीले तेस्रो त्रैमाससम्म ७ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिमा आर्जन भएको ६ अर्ब १९ करोड २५ लाख रुपैयाँभन्दा २६.५३ प्रतिशतले बढी हो।
यस्तै, समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ११ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद बीमाशुल्क ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ मात्र थियो। यसरी खुद बीमाशुल्क आर्जन ३८.१३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) बढेर ५.४५ रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ईपीएस ५.३६ रुपैयाँ थियो। यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.१५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो २३९.१५ गुणा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस