Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका सूचकहरूमा मिश्रित संकेत

पत्रपत्रिका

बुधबार, ०१ मंसिर २०७८, ०६ : ५२ मा प्रकाशित

अर्थतन्त्रका सूचकहरूमा मिश्रित संकेत

चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति (डलर) थप घटेको छ । यस्तै, चालू खाता घाटा पनि ह्वात्तै बढेको छ । यसैगरी मूल्यवृद्धि थप बढेको छ भने विप्रेषण आप्रवाह झनै घटेको छ ।

तर, शोधनान्तर घाटा भने केही कम भएको छ । साथै, वैदेशिक व्यापारघाटाको वृद्धिदर पनि कम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस्तै, भ्रमण आय तथा प्रत्यक्ष वैदेशिक लगानीमा राम्रो वृद्धि देखिएको छ ।

असोजसम्म आउँदा विदेशी मुद्रा सञ्चिति घटेर १० अर्ब ९८ करोड डलर कायम भएको छ । गत असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७५ करोड डलर रहेको थियो । तर, त्यो निरन्तर ओरालो लागेको छ ।

चाडपर्वको सिजनमा पनि विप्रेषण आप्रवाह घट्ने क्रमले निरन्तरता पाएको छ । असोज मसान्तसम्म आउँदा ७ दशमलव ६ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १२ दशमलव ७ प्रतिशतले घटेको थियो । तर, चालू आवको शुरूदेखि नै विप्रेषण आप्रवाह घट्दै गएको छ ।

असोज मसान्तसम्म नेपालमा रू.२ खर्ब ३९ अर्ब ३२ करोड विप्रेषण आएको छ । गत आवको सोही अवधिमा २ खर्ब ५८ अर्ब ८६ करोड विप्रेषण आएको थियो ।

असोजसम्ममा चालू खाता घाटा रू. १ खर्ब ५१ अर्ब ७० करोड पुगेको छ । गत साउनमा रू. ४७ अर्ब ९० करोड र भदौ मसान्तसम्ममा रू. १ खर्ब ७ अर्ब ७५ करोड यस्तो घाटा रहेको थियो । गत आवको समीक्षा अवधिमा चालू खाता रू ३३ अर्ब ३८ करोडले बचत रहेको थियो ।

असोजमा मूल्यवृद्धि थप बढेको छ । गत भदौमा ३ दशमलव ४९ प्रतिशत रहेको मूल्यवृद्धि (मुद्रास्फीति) अहिले बढेर ४ दशमलव २४ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म आउँदा शोधनान्तर घाटा भने केही कम भएको छ । गत भदौमा रू. ८३ अर्ब ४१ करोड रहेको शोधनान्तर घाटा अहिले रू. ७६ अर्ब १३ करोडमा सीमित भएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमललव ५ प्रतिशतले बढेर रू. ५ अर्ब ७ करोड पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक लगानी रू. २ अर्ब ९२ करोड रहेको थियो । वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

समग्र अर्थतन्त्रमा भने सुधार नदेखिएको उनको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्नका लागि राष्ट्र बैंकले आफ्नो ठाउँदेखि विभिन्न पहल गरिरहेको उनको भनाइ छ । राष्ट्र बैंकले सुनलगायत विलासिताका वस्तुको आयातमा कडाइ गर्ने तयारी गरेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको