Like us!
Follow us!
Connect us!
Watch us!

महिलालाई खुसीको खबर : स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा

बुधबार, ०७ असार २०७४, १६ : ४५ मा प्रकाशित

महिलालाई खुसीको खबर : स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा

काठमाडौँ– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याइएको छ ।

स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे ९मेमोग्राम० खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो । यसअघि यो मेसिन प्रयोगविहीन अवस्थामा थन्किएको थियो ।

अस्पतालका निर्देशक प्रा डा अमीरबाबु श्रेष्ठले त्यो मेसिन खरिद भएको भन्ने जानकारी नभएकाले प्रयोगविहीन भएको बताउँदै “यहाँ त क्यान्सरको पनि जाँच हुने भएकाले मेमोग्रामको सुविधा दिने कुरा चल्दा यो मेसिन पहिले नै खरिद भएको तर प्रयोगमा नआएको भन्ने थाहा पाएपछि त्यसलाई मर्मत गरी करिब चार महिना अघिबाटै सञ्चालन गरिरहेका छौँ भन्नुभयो ।”

अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङले बिरामीलाई उपचारका लागि गर्नुपर्ने सम्पूर्ण जाँच अस्पतालबाटै उपलब्ध गराउनका लागि मेमोग्राम सेवा निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार मेमोग्राम गर्नका लागि बिरामीले रु एक हजार २०० तिर्नुपर्छ ।

पछिल्लो समयमा महिलामा स्तन क्यान्सरको समस्या बढ्दै गएको पाएपछि यसप्रति सचेत हुन धेरै महिलाले मेमोग्राम गराउने गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापतिका अनुसार स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा पर्छ । महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने उहाँले बताउनुभयो । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ ।

डा प्रजापति भन्नुहुन्छ, “कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ, तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाडै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ । ढिलो बच्चा जन्माएका महिला र आफ्नो बच्चा जन्माएर पनि स्तनपान नगराउने महिलालाई स्तन क्यान्सर हुने खतरा निकै बढी देखिएको छ ।”

लामो समयसम्म परिवार नियोजनको चक्की खाने, हर्मोनको प्रयोग गर्ने, अनावश्यक विकिरण ९एक्सरे० को सम्पर्कमा आउने, बोसोयुक्त खानेकुरा ज्यादा खाने, धेरै मदिरा सेवन गर्ने र अति मोटा महिलामा पनि स्तन क्यान्सरको खतरा हुने चिकित्सकको भनाइ छ ।

नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठ भन्नुहुन्छ, “स्तन क्यान्सर एक प्रकारको ट्युमर हा,े जुन व्यक्तिको स्तनका कोषिका अस्वाभाविक वृद्धि भएर जान्छ, त्यसलाई क्यान्सर रोग लाग्ने सम्भावना बढी हुन्छ । यसका कोषिका एकै ठाउँमा मात्र रहन सक्दैनन्, शरीरका अन्य तन्तुमा पनि सर्दै जाने गर्दछ, यसलाई समयमै नष्ट गर्न नसकेमा पूरै शरीरभरि फैलिन गई बिरामीको मृत्यु पनि हुनसक्छ ।”

नेपाल क्यान्सर सोसाइटीकाअनुसार युवती तथा प्रौढ महिलालाई हुने क्यान्सरमध्ये ६० प्रतिशत स्तन क्यान्सर हुन्छ । नेपालमा ३० देखि ५० वर्ष उमेर समूहका सहरी महिलालाई स्तन क्यान्सर बढी मात्रामा भएको पाइन्छ । ।यसको यकिन तथ्याङ्क नभए पनि नेपालका न्यूनतम ५० हजार महिला स्तन क्यान्सरबाट पीडित भएको अनुमान छ ।

आजभोलि फेरिएको जीवनशैलीका कारण स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सक बताउँछन् । स्तन क्यान्सर लागेको हो वा होइन भनी पत्ता लगाउन म्यामोग्राफी ९स्तनको मात्र एक्स–रे० गर्नु पनि आवश्यक रहेको चिकित्सक बताउँछन् । यस रोगबाट बच्न समयमै विवाह गर्नुपर्ने, समयमै बच्चा जन्माई स्तनपान गराउनुपर्ने, व्यायाम गर्ने, मोटोपनबाट बच्ने र खानपानमा ध्यान दिनु आवश्यक भएको डा प्रजापति बताउँछन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको