Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्किँदै आर्थिक कारोबार : वीरगञ्ज भन्सारबाट ९२ प्रतिशत बढ्यो वैदेशिक व्यापार

पत्रपत्रिका

बुधबार, ०८ मंसिर २०७८, ०६ : २८ मा प्रकाशित

लयमा फर्किँदै आर्थिक कारोबार : वीरगञ्ज भन्सारबाट ९२ प्रतिशत बढ्यो वैदेशिक व्यापार

कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ । आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को वैदेशिक व्यापारको आँकडाले यस्तो संकेत गरेको हो ।

वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँबराबरको आयात निर्यात भएको छ ।

यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँबराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।

२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो । चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको छ ।

मूल्यका आधारमा गतवर्षको तुलनामा यो ४ महीनामा आयात ८० प्रतिशतले बढेको छ । निर्यात व्यापार २१८ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

गत आवको पहिलो ४ महीनामा १ खर्ब २५ अर्ब रुपैयाँ मूल्यको आयात हुँदा निर्यात १२ अर्ब ४४ करोड रुपैयाँको भएको थियो । वीरगञ्ज नाकाबाट पेट्रोलिम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थलगायत सामान बढी आयात हुन्छ । निर्याततर्पm प्रशोधित खाने तेल, जूस, पिना, कपडा, घागोलगायतको योगदान बढी छ ।

वीरगञ्ज भन्सार भएर सबैभन्दा बढी भारतीय मालसामान भित्रिएको छ । भारतबाट १ खर्ब ५८ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात ३८ अर्ब २ करोड रुपैयाँबराबरको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको