Like us!
Follow us!
Connect us!
Watch us!

लामो समयदेखि कर नबुझाउने करदातामाथि कारबाही सुरु

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, १२ : ५७ मा प्रकाशित

लामो समयदेखि कर नबुझाउने करदातामाथि कारबाही सुरु

लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए।

उनले कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गरेको बताए । उनले दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गरिने जानकारी दिएका छन् ।

अघिल्लो आर्थिक वर्ष ०७७/ ०७८ मा कर नबुझाउने ५० जना करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ थियो ।

उक्त कार्यालयले चालू आव ०७८/ ०७९ को चार महीनामा १ अर्ब ७३ लाख २८ हजार  रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा ८३ करोड १८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । चालू आव ०७८/ ०७९ मा ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा र चार महीनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए।  

आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ १ हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले बताएको छ ।

यसैबीच कार्यालयले चार ओटा जिल्लाका चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएकोे छ ।

आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पुर्याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।

यस्तै उत्कृष्ट कार्य गरेबापत करदाता सेवा कार्यालय मलंगवामा कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका राकेशकुमार मिश्रलाई पुरस्कृत गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको