Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर २९ गतेसम्म हातमा सेयर ३०% बोनस सेयर कन्फ्रम , महालक्ष्मी बैंकको सर्वाधिक काराेबार

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, २१ : २७ मा प्रकाशित

हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । साेही समाचारहरूकाे संकलन हामीले समाचारमार्फत् पनि पाठकहरूमाझ पुर्याउन सुरू गरेका छाैँ ।

आज (मंसिर १६ गते, बिहीबार) दिनभरका मुख्य आर्थिक समाचारहरू यस प्रकारका छन् :

१. सिभिल बैंकको ऋणपत्र मंसिर २४ गतेबाट बजारमा आउने, लगानीकर्तालाई १०.२५ प्रतिशत व्याज

सिभिल बैंक लिमिटेडले मंसिर १६ गते, बिहीबारबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । निष्कासन गरिने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । मंसिर २४ गतेबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पौष ९ गतेसम्मसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

२. गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको लाभांश घोषणा, १० प्रतिशत बोनस दिने

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।फाइनान्सको हिजो मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

३. लाभांश पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारण सभा,  पौष १ गते बुकक्लोज

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे हिजाे (मंसिर १५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे साताैँ वार्षिक साधारण सभा पाैष १० गते हुनेछ । सभामा संस्थाकाे कार्तिक ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. गरिमा विकास बैंकको ऋणपत्र आजबाट खुल्यो, पौष १ गतेसम्मसम्म आवेदन दिन सकिने

गरिमा विकास बैंक लिमिटेडले आज (मंसिर १६ गते, बिहीबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । बैंकले ७ वर्ष अवधिकाे "८.७५% गरिमा डिबेञ्चर, २०८५" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । निष्कासन गरिएकाे कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आज (मंसिर १६ गते, बिहीबार) बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटोमा मंसिर २० गते र ढिलोमा पाैष १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल लिमिटेड, गरिमा विकास बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

५. सेयर बजारमा भारी गिरावट, काराेबारमा महालक्ष्मी विकास बैंक अब्बल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालाे लागेका छन् । काराेबार रकम भने बुधबारकाे तुलनामा बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा झरेकाे छ । नेप्से १.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ विन्दुमा झरेकाे छ । कूल २३१ वटा कम्पनीकाे ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेकाे छ । बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ४३ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज पनि २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ७ रूपैयाँ ५० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय १३ रूपैयाँ १० पैसा पुगेकाे छ । यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंककाे सेयरमूल्य ६.८० प्रतिशतले घटेर ९ सय १३ रूपैयाँ ४० पैसामा झरेकाे छ । 

६. नेपालको पूँजी बजारमा नियामककै गिद्दे दृष्टि

विगत केही समयअघि दिनुहँ नयाँनयाँ रेकर्ड बनाइरहेको पूँजी बजारमा एक्कासी सेयर बजारको विकास र विस्तारका लागि स्थापना भएका विभिन्न नियामक निकायहरूबाट नै गिद्दे दृष्टि पर्दा अहिले बजारमा नकारात्मक माहोल बनेको छ । करिब ३२०० पुगेको नेप्से परिसूचक अहिले २५०० को विन्दुमा झरिसकेको छ भने करिब २२ अर्ब पुगेको दैनिक कारोबार रकम पनि ३-४ अर्बमा सिमित हुन पुगेको छ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरूको नाम ताेकेर विज्ञप्ति सार्वजनिक गर्नु,  बीमा समितिका अध्यक्षले अस्थिर बोली बाेल्नु,  राष्ट्र बैंकले सेयर धिताे कर्जामा ४-१२ काे क्याप लगाउनु, नियामक निकायहरूले अस्थिर नीति जारी गर्नु, बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिनमा ढिलाई गर्नु, विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीको सेयर मूल्यका विषयमा विज्ञप्ति जारी गर्नु नेपालको पूँजी बजारमा नियामककाे गिद्दे दृष्टिका केही उदाहरणहरू हुन् ।

७. सुनको मूल्य स्थिर, १० रुपैयाँले घट्यो चाँदी

बिहीबार सुनकाे मूल्य स्थिर रही प्रतिताेला ९१ हजार ५ सय रुपैयाँमा नै काराेबार भएकाे छ । यता चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

८. सिभिल सहकारीका बचतकर्ता सडकमा,ठगीका गिरोहलाई कारवाहीकाे माग

सिभिल सहकारीका बचतकर्ताहरू विराेध कार्यक्रमसहित सडकमा उत्रिएका छन् । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ताले तामाङसहित संलग्न समूहलाई कडा कारवाही गर्न दबाब दिएका छन् । काठमाडौंको माइतीघरमा भेला भएका पीडित बचतकर्ताहरूले संगठित ठगीका गिरोहलाई कारवाही गर्नुपर्ने, कानून सुधार गर्नुपर्ने, आफूहरूको बचत फिर्ता गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् । 

भिडियाे पनि हेर्नुहाेस् :


 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको