Like us!
Follow us!
Connect us!
Watch us!

सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १० : ३२ मा प्रकाशित

सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, सबैभन्दा बढी कर्जा प्रवाह कैलालीमा

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप एक खर्बभन्दा माथि पुगेको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढ्दै वित्तीय साक्षरता र बढ्दो आर्थिक क्रियाकलापका कारण बैंकिङ कारोबार वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।

प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२५ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.८१ रहेको छ ।

कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.८२ प्रतिशत र बाजुरा जिल्लाकोअंश सबैभन्दा कम ०.९४ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४०८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३४४ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा रहेको प्रतिवेदनले औँल्याएको छ । 
बैंकको कर्जामध्ये सेवा क्षेत्रमै बढी कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६२ प्रतिशतले बढेर ८६ अर्ब २६ करोड पुगेको छ । यसैगरी कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई १२ अर्ब ८ करोड पुगेको छ ।

बैंकको कर्जामध्ये ८६ प्रतिशत सेवा क्षेत्रमा र ९ प्रतिशत कृषिमा प्रवाह भएको अध्ययनमा पाइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको