Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौँ : अर्थविद्

अर्थ संसार

शनिबार, ०३ पुस २०७८, ११ : १४ मा प्रकाशित

अर्थतन्त्र समस्यामा छ, तत्काल सुधारको काम थालौँ : अर्थविद्

कोरोना कहरबाट प्रभावित भएको अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै पुनःसमस्यामा परेको भन्दै अर्थविद्ले तत्काल समस्याको समाधानका लागि पहल थाल्न सुझाव दिएका छन् ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको, पूँजीगत खर्च हुन नसकेको तथा शोधान्तर घाटा बढेकोजस्ता तथ्य पेश गर्दै उनीहरुले गम्भीर दुर्घटना हुनु अगावै निरोधात्मक उपायको अवलम्बन गर्न आग्रह गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको चार महीनामा मुलुकको शोधान्तर १ अर्ब ५१ करोड रुपैयाँले घाटामा गएको छ । वस्तु तथा सेवाको आयातमा वृद्धि हुँदा नेपाल भित्रने र बाहिरिने रकमबीचको सन्तुलन हुनु जरुरी रहन्छ ।     
     
यसको प्रभावले गर्दा मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । केन्द्रीय बैंकका अनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ । यो गत असारको तुलनामा ११ प्रतिशतले कम हो । गत असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो । चालू आवको चार महीनाको विवरणानुसार २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँले चालू खाता घाटामा छ ।     
     
पछिल्लो समय विदेशी मुद्रा देशभित्र आउनेभन्दा बाहिरिने क्रममा वृद्धि भएको छ । विप्रेषण आप्रवाहमा गिरावट आएको छ । विकास निर्माणको कामले गति लिन नसक्दा ३ खर्ब रुपैयाँ बढी रकम त्यत्तिकै बसेको छ । त्यसको चाप तरलतामा परेको छ ।     
     
बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न नसक्ने अवस्था आएको छ । बैंकले ब्याजदर बढाए पनि निक्षेप बढ्न सकेको छैन । विलासिलताका वस्तुको आयात बढ्दै जाँदा विदेशी मुद्रासमेतमा चाप परेको छ । यी आदि समस्याको समाधानका लागि सरकारले समयमै पहल लिनुपर्ने अर्थविद्को भनाइ छ ।     
     
प्रतिनिधि सभाको अर्थसमितिले शुक्रबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ को छलफलमा अर्थतन्त्रका जानकारले विदेशी मुद्राको सञ्चिती बढाउन उपयुक्त क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिएका हुन् । असार मसान्तमा मात्रै पूँजीगत खर्च भएको देखिने प्रवृत्तिलाई रोक्न पनि अहिल्यै खर्च बढाउन चाल्नुपर्ने उपायको खोजी गर्न सरकारलाई सुझाएका हुन् ।     
     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको