Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो ऋण: तीन महिनामा थपियो साढे १९ अर्ब सार्वजनिक ऋण, तिरियो झन्डै ४२ अर्ब

पत्रपत्रिका

सोमबार, १२ पुस २०७८, ०८ : ३९ मा प्रकाशित

घट्यो ऋण: तीन महिनामा थपियो साढे १९ अर्ब सार्वजनिक ऋण, तिरियो झन्डै ४२ अर्ब

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १९ अर्ब ४९ करोड रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७८/७९ को साउनदेखि असोजसम्म सरकारले उक्त रकम बराबरको बाह्य ऋण लिएको हो तर समीक्षा अवधिमा सरकारले आन्तरिक ऋण भने लिएको छैन ।

सो कार्यालयका अनुसार पहिलो त्रैमासमा सरकारले लिएको ऋणभन्दा ऋणबापतको भुक्तानी धेरै छ । यस अवधिमा सरकारले बाह्यतर्फ पाँच अर्ब १७ करोड र आन्तरिकतर्फ २९ अर्ब गरी कुल ३४ अर्ब १७ करोड रुपियाँ ऋण भुक्तानी गर्न सफल भएको छ । त्यस्तै बाह्य ऋणबापत सरकारले एक अर्ब ६२ करोड र आन्तरिक ऋणतर्फ छ अर्ब १३ करोड रुपियाँ ब्याज रकम पनि भुक्तानी गरेको छ । ब्याजसहित सरकारले पहिलो त्रैमासमा ४१ अर्ब ९३ करोड रुपियाँ भुक्तानी गरेको छ ।

बाह्यतर्फ नेपालले सबैभन्दा बढी बहुपक्षीय दातृ संस्थाबाट १६ अर्ब ३१ करोड रुपियाँ ऋण लिएको छ । त्यस्तै द्विपक्षीय दातृ निकायबाट तीन अर्ब १८ करोड रुपियाँ ऋण लिएको कार्यालयको तथ्याङ्क छ ।

समग्रमा पहिलो त्रैमासमा बाह्य ऋण १.६२ प्रतिशतले बढेको छ । आन्तरिक ऋण भने ३.६१ प्रतिशतले घटेको छ ।

नेपालको कुल सार्वजनिक ऋणको आकार गत आर्थिक वर्षको तुलनामा केही घटेको छ । सार्वजनिक ऋण बढेर आलोचना खेपिरहेको सरकारका लागि यसले भने केही राहत मिलेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म १७ अर्ब ३७ करोड कुल सार्वजनिक ऋण रहेकामा प्रथम त्रैमासमा घटेर १७ अर्ब २३ करोड पुगेको छ । अर्थात् सार्वजनिक ऋणको आकार समीक्षा अवधिमा १४ अर्बले घटेको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको