Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १६ : ४६ मा प्रकाशित

ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले आन्तरिक ऋण संकलनका लागि विकास ऋणपत्र जारी गर्ने तयारी गरेको छ । यस अन्तर्गत १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । 

नेपाल राष्ट्र बैंकमार्फत हालसम्म जारी भएका विकास ऋणपत्रको अवधिलाई हेर्ने हो भने ती ३ वर्षदेखि १५ वर्षसम्मका रहेका छन् । यसपटक भने ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, गैर–बैंक वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले सहभागी हुन पाउनेछन् । इच्छुकहरूले आगामी भदौ ११ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा भाग लिन सक्नेछन् । ऋणपत्रको सावाँ रकम भदौ १२ गते भुक्तानी हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक आधारमा हुने बताइएको छ । 

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर बाँडफाँट गरिने र त्यसअनुसार ‘कट अफ’ ब्याजदर तोक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । कट अफ वा त्यसभन्दा तल ब्याजदर प्रस्ताव गर्ने सबैलाई एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन सकिने प्रावधान छ । यसपटक जारी हुने ऋणपत्रमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ बराबर छुट्याइएको छ । अप्रतिस्पर्धी पक्षबाट पूरा बोल नआए बाँकी रकम प्रतिस्पर्धी बोलवालालाई उपलब्ध गराइनेछ । त्यस्तै, अप्रतिस्पर्धी बोलवालाबाट छुट्याइएको भन्दा बढी माग आएमा समानुपातिक ढंगले बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।

बोलकबोल प्रस्तुत गर्दा न्यूनतम ५० हजार रुपैयाँदेखि बढीमा कुल निष्कासन रकमभित्र ५० हजारको गुणकमा मात्र प्रस्ताव पेश गर्नुपर्नेछ । व्यक्ति वा संस्थाले प्रतिष्पर्धी वा अप्रतिस्पर्धी दुवैमा एकैसाथ भाग लिन भने पाउने छैनन् । त्यस्तै, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले अप्रतिस्पर्धीको रुपमा बोलकबोल गर्न नपाउने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको