Like us!
Follow us!
Connect us!
Watch us!

‘सुनकोसी तेस्रो’ को अध्ययन अन्तिम चरणमा

पत्रपत्रिका

शनिबार, १७ पुस २०७८, ०८ : ४२ मा प्रकाशित

‘सुनकोसी तेस्रो’ को अध्ययन अन्तिम चरणमा

काभ्रेपलाञ्चोक तथा रामेछापको जिल्लाको सिमानामा बग्ने सुनकोसी नदीमा निर्माणका लागि प्रस्ताव गरिएको ‘सुनकोसी तेस्रो’ जलाशययुक्त विद्युत् आयोजना अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । विद्युत् विकास विभागले काभ्रेको तेमाल गाउँपालिका र रामेछापको खाँडादेवी गाउँपालिकाको सिमाना लुभुघाटमा निर्माणको प्रस्ताव गरेको आयोजनाको अध्ययनको काम अन्तिम चरणमा पुगेको जनाएको हो ।

विभागका इन्जिनियर सुवास थपलियाले प्रस्तावित सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको डिजाइन, ड्रइङ, भौगर्भिक सर्भे, टोपोग्राफी सर्भे, योजनाको लागत अनुमान, वातावरणीय प्रभाव अध्ययन, जैविक, आर्थिक, सामाजिक अध्ययन गरी मस्यौदा प्रतिवेदन तयारी सकिएको बताए ।

उनले विभागले सम्भाव्यता अध्ययनको काम सकेर तयार गरेको मस्यौदा प्रतिवेदनहरू योजनाबाट प्रभावित बन्ने काभ्रे, रामेछाप, सिन्धु्पाल्चोक र सिन्धुली जिल्लाका सम्बन्धित स्थानीय तहहरुलाई पठाइएको बताए । उनले विभागले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि छुटेका तथा स्थानीय तहले दिनुपर्ने रायसुझाव पेस गर्नका लागि सात दिनको समयसीमा दिइएको बताए ।

यसैगरी रामेछापको खाँडादेवी र सुनापति गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिकालाई विभागले तयार गरेको मस्यौदामा रायसुझाव पेस गर्न भनिएको थपलियाले बताए । उनले स्थानीय तहको रायसुझावपछि मस्यौदा प्रतिवेदनलाई परिमार्जन गरी स्थानीय तहको सिफारिसपछि प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरिने बताए । सम्भाव्यता अध्ययनले योजना निर्माण लागत एक खर्ब ६० अर्ब रुपियाँ रहेको छ ।

विभागले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीअन्तर्गत काभ्रेको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरेको छ । सुरुको अध्ययनले ५३६ मेगावाट विद्युत् उत्पादन हुने देखाए पनि पछिल्लो अध्ययनबाट ६८३ मेगावाट विद्युत् उत्पादन हुने देखाएको इन्जिनियर थपलियाले बताउनुभयो । आयोजनाको विद्युत्गृह तेमाल गाउँपालिका–९, तित्रेटारमा निर्माणका लागि प्रस्ताव गरिएको छ ।

काभ्रेको तेमाल गाउँपालिका–९ र रामेछापको खाँडादेवी गाउँपालिका–१, लुभुघाटामा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई १.१ किलोमिटर लामो र नौ मिटर व्यास भएको सुरुङबाट तेमाल गाउँपालिका–९, तित्रेटारस्थित विद्युत् गृहमा लगिनेछ भने विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोसी नदीमा खसालिने जनाइएको छ ।

इन्जिनियर थपलियाले आयोजनाबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका करिब तीन हजार ६०० घरपरिवार प्रभावित हुने अध्ययनले देखाएको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिकाका सातवटा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाको प्रभावित क्षेत्र डुबान क्षेत्रमा पर्ने देखिएको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको