Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा ३३३० को बलियो रेसिस्टेन्स ब्रेक : RSI ७० माथि, अझ माथि जान सक्ने तथा अन्य समाचार

अर्थ संसार

विहीबार, २९ पुस २०७८, २० : ०५ मा प्रकाशित

आज (पाैष २९ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. प्रिमियर इन्स्योरेन्सकाे लाभांश परिमार्जन, बढ्यो बाेनस

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा पूर्णरूपमा राेक लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।  अब कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्नेछ । कम्पनीले यसअघि गत आवको नाफाबाट ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।कम्पनीको हिजाे (पौष २८ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यामबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुक क्लोज गर्नेछ । त्यसैले, माघ ४ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश लिन र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

२. एशियन लाईफले डाक्याे साधारण सभा, माघ १२ गते बुकक्लोज

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १३ औँ वार्षिक साधारण सभा माघ २१ गते शुक्रबार, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर बिरगन्जमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।  । उक्त सभामा कम्पनीले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते बुकक्लोज गर्नेछ । त्यसैले, माघ ११ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश लिन र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

३. नगद लाभांश वितरण नगर्न लाइफ इन्स्योरेन्सलाई बीमा समितिको निर्देशन

बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएकाे छ । समितिले बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने तथा बीमकलाई आइपर्नसक्ने थप जोखिम बहन गर्न पूँजी कोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुनजेलसम्मको लागि नगद लाभांश (बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेक) घोषणा तथा वितरण नगर्न निर्देशन दिएकाे हाे ।

४. सेयर बजारमा रौनकता, हाइड्रोमा लगानीकर्ताको आकर्षण

पाैष महिनाकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजार अर्धसतक भन्दा धेरैले बढेकाे छ । बढेकाे बजारमा हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ८.९४ अंकले बढेर ५३०.८३ विन्दुमा पुगेको छ । कूल २२४ वटा कम्पनीकाे एक कराेड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर उपसमूह ४.९ प्रतिशतले बढेकाे छ । बिहीबार अपर तामाकाेशी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३४ कराेड ३१ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ७९ रूपैयाँ २० पैसा पुगेकाे छ । यस दिन एनबिएल डिबेञ्चर ८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य २.०३ प्रतिशतले घटेर ९ सय एक रूपैयाँ ३० पैसामा झरेकाे छ ।

५. २० वर्षसम्म बुझिलिन नआएका निक्षेप विकास कोषमा जम्मा गर्न राष्ट्र बैंककाे निर्देशन

नेपाल राष्ट्र बैंकले बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई २० वर्षसम्म लिन बुझ्न नआएका / दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरुबाट राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएकाे छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम बीस वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोष (अनक्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसावमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकका अनुसार यसरी बैंकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाको हुनेछ। बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को प्रकृया पुरा गरी राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दावी पेश गर्नु पर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्वन्धित बैंक तथा वित्तीय संस्थालाई विना
व्याज रकम फिर्ता गरिनेछ । राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा भएको रकम बैंकिङ्ग विकासमा प्रयोग गरिने राष्ट्र बैंककाे सूचनामा उल्लेख गरिएकाे छ । 

६. प्रोभिडेन्ट मचेन्ट बैंकिङको साधारण सभा सम्पन्न, पहिलो पटक कम्पनीको मुनाफा ६३ लाख

प्रोभिडेन्ट मचेन्ट बैंकिङ लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा ६३ लाख ३३ हजार रुपैयाँ मुनाफा गरेको छ । कम्पनीले बुधबार राजधानीको नयाँ बानेश्वरस्थित कार्यलयमा सम्पन्न गरेको सातौं र आठौं साधारण सभामा कम्पनीका अध्यक्ष तथा कार्यकारी प्रमुख बिमल तिवारीले उक्त जानकारी दिएका हुन् । कम्पनीको चुक्ता पूँजी ८ करोड रुपैयाँ रहेकाे छ । यस आधारमा कम्पनीले प्रतिसेयर आम्दानी ३ रुपैयाँ १७ पैसा गरेको छ । कम्पनीले गत वर्षको आम्दानीलाई जगेडा कोषमा राखेको छ । उक्त कोषबाट आगामी वर्ष बोनस वा डिभिडेन्ड वितरण गरिने कार्यकारी अध्यक्ष तिवारीले जानकारी दिए ।

७. हाइड्रोमा ३३३० को बलियो रेसिस्टेन्स ब्रेक : RSI ७० माथि, अझ माथि जान सक्ने

नेप्सेको डेली चार्टमा हाइड्रोपावर सेक्टरले ३३३० को बलियो रेसिस्टेन्सलाई ब्रेक गर्न सफल भएको छ।  यसअघि नेप्से २४८० को विन्दुबाट २८७८ को बिन्दुसम्म पुग्दा हाइड्रो इन्डेक्स ३३३० सम्म पुगेर त्यहाँबाट घट्न सुरु गरेको थियो।  यसअघिको र्यालीको उच्च बिन्दुलाई प्राविधिक विश्लेषणमा बलियो रेसिस्टेन्सको रुपमा लिने गरिन्छ। यदि सो रेसिस्टेन्स ब्रेक भएको खण्डमा बजार तिब्र रुपमा बढेर माथि जाने सम्भावना रहन्छ। हाइड्रो सेक्टरको RSI ७३ भन्दा माथि पुगेको छ।  RSI ७० भन्दा माथि हुनुले हाइड्रो सेक्टर बलियो अपट्रेन्डमा रहेको संकेत गर्दछ र यसले हाइड्रो इन्डेक्स बढेर अझ माथि जान सक्ने देखाईरहेको छ।  

८. माउन्टेन हाइड्रोको साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित 

माउन्टेन हाइड्राेपावरकाे नेपाल लिमिटेडकाे छैठौं वार्षिक साधारण सभा आज पुस २९ गते, बिहीबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

९. ५ सयले बढ्याे सुनकाे भाउ, २० रूपैयाँले बढ्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९२ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ५५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको