Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व असुली वृद्धि

पत्रपत्रिका

बुधबार, ०५ माघ २०७८, ०८ : ४० मा प्रकाशित

राजस्व असुली वृद्धि

चालू आर्थिक वर्षको छ महिनामा राजस्व सङ्कलन लक्ष्यको तुलनामा ४५.९ प्रतिशत बढी भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो । चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच खर्ब ४२ अर्ब पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्ष राजस्व सङ्कलनको लक्ष्य भने ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ रहेको छ ।

पुससम्ममा सङ्कलित राजस्वमध्ये कर चार खर्ब ९३ अर्ब ९९ करोड २९ लाख रुपियाँ रहेको छ भने गैरकर राजस्व ४८ अर्ब छ करोड १६ लाख रुपियाँ रहेको छ । पछिल्लो तीन आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा लक्ष्यको तुलनामा राजस्व असुली वृद्धि बढ्दै गएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको छ ।

आव २०७६/७७ मा जम्मा ३९ प्रतिशत राजस्व असुली भएको थियो भने २०७७/७८ मा ४१.७ प्रतिशत भएको थियो । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतारचढाव देखिएको छ ।

खर्चको अर्धवार्षिक समीक्षा गर्दा आव २०७६/७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत, वित्तीय खर्च २२.४४ प्रतिशत रहेको थियो । आव २०७७/७८ को सोही अवधिमा १४ दशमलव ४० प्रतिशत पुँजीगत खर्च र करिब १३ प्रतिशत वित्तीय खर्च भएको छ । यस्तै चालू आर्थिक वर्षको पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत र वित्तीय खर्च २६.१२ प्रतिशतसम्म भएको छ ।

चालू खर्चमा पनि निरन्तर बढेको छ । आव २०७६/७७ को पुस मसान्तसम्म चालू खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म भने ३८ दशमलव १३ प्रतिशत रहेको सचिवालयले जनाएको छ । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । आगामी दिनमा पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको