Like us!
Follow us!
Connect us!
Watch us!

नासा सेक्यूरिटिजले भन्यो भ्रमपुर्ण समाचारमा कुनै सत्यता छैन,कर नतिरे बोनस नपाइने+अन्य समाचार

अर्थ संसार

मंगलबार, ११ माघ २०७८, १९ : ५६ मा प्रकाशित

आज माघ ११ गते, मंगलबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. छ्याङ्दी हाइड्रोपावरको हकप्रद आजदेखि खुल्याे, पौष २० गतेसम्म कायम हुनेले भर्न पाउने

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज माघ ११ गते, मंगलबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

२. नासा सेक्यूरिटिजको स्पष्टिकरण : ओम प्रकाश अग्रवालसँग कुनै कारोबार छैन, भ्रममा नपर्न आग्रह

विगत केही दिनयता विभिन्न अनलाईन मिडिया मार्फत नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) सँग नाम जोडेर विभिन्न भ्रमपूर्ण समाचारहरु सम्प्रेषित भएकोप्रति नासा सेक्यूरिटिजले आफ्नो ध्यानाकर्षण जनाएको छ । कम्पनीले एक प्रेस विज्ञप्ती जारी गर्दै नासा सेक्यूरिटिजले आफ्नोमा हितग्राही खाता नै नभएका र आफ्नो कम्पनीसँग कुनै किसिमको कारोबार नै नभएका व्यक्तिको नाम जोडेर संस्थाको साखलाई गिराउने, दुराग्रही एवं दुषित मनोभावबाट ग्रस्त, निराधार र भ्रमपुर्ण रही उक्त समाचारमा कुनै सत्यता नरहेको बताएको छ । यस ब्राेकरमा कारोबार खाता तथा हितग्राही खाता नै नरहेका र यस संस्थाबाट कहिल्यै कुनै कारोबार नै नगर्ने ओम प्रकाश अग्रवाल तथा निजको परिवारका सदस्यहरुको नाम जोडी “अरबौ भन्दा बढीको शेयर बेचेर फरार भएका व्यवसायी ओम प्रकाश अग्रवाललाई मिटर व्याजमा ऋण दिएको हुन सक्ने भन्दै सि आई बि ले ब्रोकर नं. ५८ माथि अनुसन्धान जारी राखेको” भन्ने जस्ता भ्रमपूर्ण तत्थ्यहरु निराधारयूक्त रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । 

३. स्वरोजगार लघुवित्तले गर्यो सेयरधनीलाई कर तिर्न आग्रह, नतिरे बोनस नपाईने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले २०७७ साल असोज २५ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीहरूलाई संस्थाको यसै jर्षको कार्तिक २८ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशतका दरले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो । सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।

४. तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको गिरावट

आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । तीव्र उतारचढावबीच अन्त्यमा नेप्सेमा झिनाे गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेकाे छ । नेप्से ०.२१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ विन्दुमा झरेकाे छ । कूल २२९ वटा कम्पनीकाे ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज लाइफ इन्स्याेरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । आज एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ९४ लाख ५१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । मंगलबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६ रुपैयाँ पुगेको छ । यस दिन बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेकाे छ । यस दिन १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ८.३४ प्रतिशतले घटेर एक हजार रूपैयाँमा झरेकाे छ ।

५. नेप्सेको पुरानो वेभसाईट ‘दिर्घरोगी’, पाएन उचित उपचार !

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेभसाइटमा लामो समयदेखि विभिन्न समस्याहरु आउँदा लगानीकर्ताहरुले हैरानी व्यहोर्नु परेको छ । केहि दिन अघि मात्र पनि नेप्सेको पुरानो वेभसाइटमा प्राविधिक समस्या देखिँदा ३ दिनसम्म पनि मेरो सेयरमा कम्पनीको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएको थिएन । समय समयमा नेप्सेको वेभसाइटमा आउने समस्याले गर्दा लगानीकर्ताहरुलाई मात्र नभई सिडिएससीलाई पनि समस्या पर्ने गरेको छ । कतिपय अवस्थामा त नेप्सेको वेभसाइटमा देखाउने डाटा र वास्तविक डाटामा समेत धेरै नै भिन्नता देखिने गरेको छ । यसरी हेर्दा नेप्सेको वेभसाइटलाई दिर्घरोग लागेको छ यसको समाधान हुन नसकेको हो वा गर्न नखोजिएको हो त्यो प्रश्न सँधै अनुत्तरित नै रहँदै आएको छ । नेप्सेकाे वेभसाइटमा बारम्बार समस्या देखिँदा र टिएमएस राम्ररी नचल्दा लाखाैँकाे घाटा व्यहाेर्नु परेकाे अनुभव लगानीकर्ताहरूसँग छ । यसरी बारम्बार समस्या आउँदा पनि नेप्सेले दिर्घकालिन समाधान गरेकाे देखिँदैन । यस्ता कुराले नेप्सेकाे गैरजिम्मेवारीपन छर्लङ्गै देखाउँछ ।

६. नेप्सेमा १० लाख २८ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएकाे कम्पनीकाे १३औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

७. ग्रीन डेभलपमेन्ट बैंकको नाफा ३८ प्रतिशतले घट्यो, ईपीएस जम्मा ७० पैसा !

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३८.६९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब २९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४४.७७ प्रतिशतले बढेर ५ करोड ६४ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ करोड ९० लाख २५ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५०.४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५२ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । त्यस्तै, बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ९० लाख ९७ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७० पैसामा सिमित हुन पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

८. २४ प्रतिशतले बढ्यो आशा लघुवित्तको नाफा, अन्य सूचकमा वृद्धि

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.८१५ ले बढी हो । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड १६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५०.५० प्रतिशतले बढेर १७ करोड ५३ लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६६ लाख ३८ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५२.२३ प्रतिशतले बढेर १३ करोड ८५ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९ करोड १० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २० लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

९. सेयरकाे नामसारी सेवा थप एक हप्ता बन्द हुने

सेयरकाे घरायसी तथा मृत्यू नामसारी सेवा थप एक हप्ता बन्द गरिएको छ । कोरोना भाईरस (कोभिड-१९) को तेस्रो लहरसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कार्यरत अधिकांश कर्मचारी कोभिड संकमित भएकाले चेन ब्रेकका लागि सिडिएसले प्रदान गर्दै आईरहेको घरायसी तथा मृत्यू नामसारी सेवा माघ ३ गतेदेखि माघ ११ गतेसम्म स्थगन गरिएको थियाे । संक्रमितको संख्या बढ्दै गईरहेको साथै कर्मचारीहरु होम आइसोलेसनमा बसिरहेकाले घरायसी तथा मृत्यु नामसारी सेवा थप एक हप्ता अर्थात् माघ १९ गतेसम्मका लागि बन्द गरिएको सिडीएसले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

१०. ५ सयले बढ्याे सुनकाे भाउ, १५ रूपैयाँले घट्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले बढेर प्रतिताेला ९४ हजार रूपैयाँ कायम भएकाे छ । आज चाँदीकाे मूल्य भने ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको