Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

अर्थ संसार

बुधबार, २५ फागुन २०७८, १७ : ३५ मा प्रकाशित

आईपीओ ल्याउन लागेकाे दोर्दी खोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । 

जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्यले जानकारी दिए ।

उनले भने, ‘हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ ।’ यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उनको भनाइ छ । चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने उनको भनाइ थियो ।

आयोजनाको शत प्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ ।  उनका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप बिच्छ्याउने, सुरुङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।  पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप विच्छाउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीशहर नगरपालिका वडा नंं ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ । वि.सं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।   नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ । 

पछि समय थपेर वि.सं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं २०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि वि.सं २०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि वि.सं २०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन । सो पश्चात् आगामी चैत महिनाभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ । 

सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । 

आयोजनाको अनुसार सुक्खा याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेको छ । त्यस्तै आधादर्जन भन्दा बढी आयोजनाले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा यस आयोजना जसरी पटक–पटक विद्युत् उत्पादन मिति तोक्दै निर्माण अघि बढाइरहेको छ ।   

कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २९ कराेड ५१ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरकाे २९ लाख ५१ हजार ९ सय २९ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न वैशाख २१ गते नै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन दिइसकेकाे छ ।  

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको