दिनिता लामिछाने
काठमाडौं–तपाईंलाई एम्बुलेन्स चाहियो ? कतै आगलागी भए दमकललाई खबर गर्नु पर्ने भयो ? वा कतै लुटपाट भए प्रहरी बोलाउनु पर्यो ? अब ती निकायलाई एउटै नम्बरमा फोन गरेर बोलाउन सकिने भएको छ । दुरसञ्चार प्राधिकरणले सबैखाले आकस्मिक सेवाका निशुल्क नम्बरलाई एकीकृत गर्ने प्रणाली विकास गर्दै छ ।
एक वर्षभित्रै यस्तो सेवा उपलब्ध गराउने गरी दुरसंचार प्राधिकरणले काम अडाडि बढाएको छ । आकस्मिक नम्बरहरूलाई एकीकृत गर्न प्राविधिक परामर्शपत्र तयार भइसकेको छ ।
प्राधिकरणले परामर्शपत्रमाथि सरोकारवाला र सर्वसाधारणलाई सुझाव दिन आग्रह गरेको छ । संचारले अरू सरोकारवाला मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनको प्रक्रिया अघि बढाउनेछ ।
प्राधिकरणले तयार पारेको परामर्शपत्रमा एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला हेल्पलाइन, विपत सहयोग लगायतका सबैखाले आकस्मिक सेवा एउटै नम्बरमा कल गर्दा प्राप्त गर्ने व्यवस्था मिलाउने उल्लेख छ । आकस्मिक सेवाको एकीकृत नम्बरका रूपमा ११२ नम्बरलाई प्रस्ताव गरिएको छ । दोस्रो प्राथमिकतामा ११९ नम्बरलाई राख्नु उपयुक्त हुनेछ ।
धेरै मुलुकमा १११ र ११२ लाई आकस्मिक नम्बरका रूपमा राखिएको छ । त्यसैले नेपालमा ११२ राख्न उपयुक्त देखिएको हो । विभिन्न सेवाका लागि फरकफरक नम्बर प्रयोगमा आउँदा आकस्मिक सेवा चाहनेले तत्कालै सेवा पाउन नसक्ने भएकाले एकीकृत प्रणाली विकास गर्नुपरेको हो ।
आकस्मिक नम्बर एकीकृत भएपछि सबै सेवा प्रदायकको मोवाइलबाट उक्त नम्बरमा कल गर्न सकिने छ । एसएमएस र मोबाइल एप्समार्फत समेत आकस्मिक नम्बरमा सन्देश पठाउन सकिने ब्यवस्था हुनेछ ।
जीएसएम मोबाइल धेरै चल्ने प्रविधि भएकाले ११२ नम्बर यसका लागि उपयुक्त छ । यो नम्बरमा फोन लक भएको बेलामा समेत कल गर्न सकिन्छ । नम्बर एकीकृत भए आकस्मिक अवस्थामा गरिएको कलको रेकर्ड हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस