Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले भारतबाट विद्युत् लिन सकेन

पत्रपत्रिका

विहीबार, १० चैत्र २०७८, ०६ : ४८ मा प्रकाशित

प्राधिकरणले भारतबाट विद्युत् लिन सकेन

भारतीय खुला बजारमा विद्युत्को मूल्य आकाशिएपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्तिमा समस्या परेको छ ।

प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरभन्दा भारतीय खुला बजारमा कायम हुने दर बढी भएपछि यस्तो अवस्था आएको हो ।

हिउँदमा प्राधिकरणले भारतीय खुला बजारबाट बिडिङमार्फत विद्युत् किनेर स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ । पछिल्लो २ दिन (मंगलवार र बुधवार) बिडिङमा प्रस्ताव गरेको दरभन्दा खुला बजारको मूल्य बढी हुँदा प्राधिकरणले भारतबाट बिजुली पाउन नसकेको हो  ।

बुधवार प्रतियुनिट १२ रुपैयाँ ८ पैसामा विद्युत् किन्ने गरी प्राधिकरणले बिड गरेको थियो । तर, भारतीय खुला बजारमा बिजुलीको औसत मूल्य प्रतियुनिट झन्डै १८ रुपैयाँ (भारतीय ११ रुपैयाँ २० पैसा) पुग्यो । फलस्वरूप, दर नमिल्दा प्राधिकरणले भारतीय खुला बजारबाट विद्युत् खरीद गर्न सकेन ।

प्राधिकरणले बिहीवारका लागि १९ रुपैयाँ २० पैसामा बिडिङ गरे पनि पाउन नसकेको प्रवक्ता सुरेश भट्टराईले बताए । बिहीवारका लागि विद्युत्को अधिकतम मूल्य प्रतियुनिट ३२ रुपैयाँ (२० भारू) रहेको उनको भनाइ छ ।

प्राधिकरणले भारतबाट विद्युत् किन्न अघिल्लो दिनमै बिड प्रस्ताव गर्नुपर्छ । प्राधिकरणले भोलिपल्टका लागि अघिल्लो दिनमै ९६ ओटा बिड प्रस्ताव गर्र्ने गर्छ । ‘बिहीवारका लागि पनि सोहीअनुसार बिड प्रस्ताव गरेका थियौं । तर, त्यसमा आठओटा मात्र स्वीकृत भयो,’ भट्टराईले भने । यतिखेर भारतका जलविद्युत् आयोजना पूर्ण क्षमतामा नचलेको र  त्यसमा विद्युत् उत्पादन गर्ने प्रमुख माध्यम मानिएको कोइलाको समेत अभाव भएकाले मूल्य बढेको बताइन्छ ।

अहिले प्राधिकरणले औसतमा प्रतियुनिट १० रुपैयाँमा आफ्ना ग्राहकलाई विद्युत् विक्री गर्दै आएको छ । यस्तोमा प्रतियुनिट ३२ रुपैयाँसम्म लगानी गरेर विद्युत् आपूर्ति गर्दा प्राधिकरणलाई समस्या हुने भट्टराई बताउँछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रका लागि महँगोमा  भए पनि विद्युत् किन्ने बताए । ‘अन्य ग्राहकलाई विद्युत् पुग्दो नै छ । तर, उद्योग क्षेत्रका लागि विद्युत् आपूर्ति गर्न चुनौती भएको छ,’ उनले भने, ‘तर, उद्योगका लागि महँगो दरमा भए पनि विद्युत् ल्याएर आपूर्ति पूरा गर्छाैं ।’

आर्थिक अभियान दैनिकमा समाचार छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको