Like us!
Follow us!
Connect us!
Watch us!

एक सयले बढ्यो कुखुराको मासु

अर्थ संसार

सोमबार, १४ चैत्र २०७८, १२ : ०८ मा प्रकाशित

एक सयले बढ्यो कुखुराको मासु

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही साता यता मासुको मूल्य प्रतिकिलोग्राम एक सय रूपैयाँले वृद्धि भएको हो।

फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४ सय ८० रूपैयाँ पुर्याइएको छ। सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य बढेको स्थानीय व्यवसायी बताउँछन्। जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरूको भनाइ छ।

फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्रा पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको बताइन्। हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको माग अनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताइन्।

फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकाले मासुको मूल्य महँगो भएको र झापादेखि कुखुरा आयात गर्नुपरेको बताए। इलाम र झापामा पनि माग अनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ।

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उनले बताए। लोकल कुखुराको मासु प्रतिकिलोग्राम रु. ७०० ले बिक्री गर्ने गरिएको छ।

अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिए। यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन्। सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन्।

सहज रूपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरूको भनाइ छ। मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको