Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

अर्थ संसार

बुधबार, १६ चैत्र २०७८, १४ : ५४ मा प्रकाशित

दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति

सरकारले नेपाल भारत बीच निर्माण हुने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।कुल ४०० केभी क्षमताको डबल सर्किट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्राधिकरणका लागि अनुमति दिइएको हो ।

न्यू बुटवल - गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फ कुल २० किलोमिटर र भारततर्फ कुल १२० किलोमिटर गरी १४० किलोमिटर लामो रहको छ ।

नेपालबाट विद्युत् भारत निर्यातका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइन निर्माणका लागि २०७५ असोज २७ र २८ गते भारतको बैङ्गलोरमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले आवश्यक निर्णय गरेको थियो । सो बैठकमा नेपाल खण्डका लागि आवश्यक लगानी नेपाल सरकारले र भारतीय भूभागमा पर्ने संरचनाका लागि आवश्यक लगानी तथा कार्यान्वयनको हकमा समान ५०/ ५० प्रतिशत लगानी गर्ने सहमति भएको थियो ।

प्राधिकरण र भारत सरकारको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको समान लगानीमा संयुक्त उपक्रमको कम्पनी स्थापना गर्ने तथा सो कम्पनी र प्राधिकरण बीच आवश्यक सम्झौता गर्ने निर्णय भएको थियो । आयोजनामा ऋण ८० प्रतिशत र स्वपूँजी अनुपात २० प्रतिशत रहने उल्लेख गरिएको थियो ।

यस्तै, भारतीय क्षेत्रमा रहने प्रसारण लाइन २५ वर्षका लागि सम्पूर्ण क्यापासिटी बुकिङ प्राधिकरणले गर्ने उल्लेख छ । यस्तै केही समय पहिले दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले यही महिनाभित्रै संयुक्त कम्पनी स्थापना गर्ने सहमति गरेका थिए । नेपाल र भारत बीच विभिन्न ११ विन्दुबाट विद्युत् आयात तथा निर्यात हुँदै आएको भए पनि ठूलो क्षमताको प्रसारण लाइन भने एउटा मात्रै छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मात्रै ठूलो क्षमताको अर्थात् ४०० केभी क्षमताको हो । अन्य सबैजसो आयोजना ३३ केभीदेखि १३२ केभीसम्म छ । सरकारले सो प्रसारण लाइनलाई महत्वका साथ अगाडि बढाएको छ । वर्षाको समयमा बढी भएको बिजुली निर्यात तथा कम भएको बेला आयातका लागि ठूलो क्षमताको प्रसारण लाइन जरुरी छ ।

प्रसारण सञ्जालको निर्माणका लागि प्राधिकरणले महत्वका साथ गतिविधि अगाडि बढाइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार कम क्षमताका प्रसारण लाइनमा बढी मात्रामा प्राविधिक चुहावट हुने भएकाले ठूला क्षमताका प्रसारण लाइन आवश्यक छ ।

सरकारको पछिल्लो निर्णयअनुसार अब प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडले एक आपसमा मिलेर संयुक्त कम्पनी स्थापना गर्नेछन् । सो कम्पनी स्थापना भए पनि दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्मााणको काम अगाडि बढ्नेछ ।

न्यू बुटवल अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनामा काठमाडौं, नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै जाने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइनसमेत जोडिनेछ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीले अगाडि बढाउँदैछ । न्यू बुटवल सबस्टेशन समेत ४०० केभी क्षमतामा निर्माण हुनेछ । सो सबस्टेशनलाई नेपालको प्रसारण गुरुयोजनाअनुसार हब सबस्टेशनको नाम दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपाल भारत सीमादेखि भारतको गोरखपुरसम्मको प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इण्डिया लिमिटेडको संयुक्त स्वामित्व रहने गरी भारतमा कम्पनी स्थापना गर्न तथा आयोजना निर्माणमा ५० प्रतिशत शेयर पूँजी रहने गरी बढीमा १ अर्ब रुपैयाँसम्मको स्वीकृति दिइएको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको ऊर्जा सचिव देवेन्द्र कार्कीले जानकारी दिएका छन् । यसबाट नेपाल र भारतका बीचमा ऊर्जा आदानप्रदानका लागि महत्वपूर्ण योगदान पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको