अर्थ संसार, काठमाडौं– जलविद्युत क्षेत्रमा काम गर्दै आइरहेको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड,रिडी हाइड्रोपावर कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड लगायत नीजि तथा सरकारी विद्युत उत्पादक कम्पनीलाई सरकारले सम्मान गरेको छ ।
यी कम्पनीहरुले नीजि जलविद्युत क्षेत्रमा गरेको योगदानलाई उच्च मूल्याङकन गर्दै विद्युत विकास विभागले आफ्नो २४ औं वार्षिकोत्सवको अवसर पारेर आज सम्मान गरेको हो ।
नेपालको जलविद्युत् उत्पादनको इतिहासलाई राज्यले गरेको सम्मान यो पहिलो पटक हो । विद्युत विकास विभागले आफ्नो २४ औं वार्षिकोत्सवमा निजी क्षेत्रका ५८ र नेपाल विद्युत प्राधिकरणका १७ आयोजनालाई सम्मान गरेको छ ।
नेपालको जलविद्युत् उत्पादनको इतिहासमा अपि पावरले देखाएको व्यावसायिक सिप, कौशल तथा क्षमतालाई पहिलो पटक राज्यले सम्मान गरेको विभागले जनाएको छ ।
अपि पावरले दार्चुलामा एक जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ भने अर्को आयोजना निकट भविस्यमा नै सञ्चालनमा आउने गरी काम भइरहेको छ ।
नेपालको जलविद्युत् उत्पादनको इतिहासमा अपि पावर कम्पनी एउटा पायनियर कम्पनीको रुपमा स्थापित भइसकेको छ ।‘जलविद्युतमा नीजि क्षेत्रले गरेको योगदानलाई राज्यले उच्च मुल्यांकन गर्दै हाम्रो यस अपिपावर कम्पनी सम्मान हुँदा खुसी लागेको छ ‘अपि पावरका प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने भन्नुभयो ‘ यो सम्मान सम्पूर्ण अपि पावरका लगानीकर्ता र सेयरधनीको समेत सम्मान हो ।’
जलविद्युत उत्पादनको १ सय ६ वर्षको इतिहास स्मरण गर्दै सरकारले आज जलविद्युत् उत्पादनमा लागेको व्यावसायीलाई सम्मान गरेको हो ।
विभिन्न समस्या तथा अप्ठ्यारो समयमा पनि आयोजना निर्माण गरेर राज्यको ऊर्जा संकट न्यूनिकरणमा योगदान पुर्याएकाले सम्मान गरकोे विभागले जनाएको छ ।
कुल ६० मेगावाटको खिम्ती जलविद्युत आयोजना निर्माणसँगै निजी क्षेत्र जलविद्युत विकासमा आकर्षित भएको हो । निजी क्षेत्रले अहिलेसम्म ५८ आयोजनाबाट ४३९ मेगावाट विद्युत उत्पादन गरेको छ । यस्तै, प्राधिकरणले १७ आयोजनाबाट ४६७ मेगावाट उत्पादन गरेको छ ।
प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म करिब ९०७ मेगावाट विद्युत उत्पादन गरेका छन् । हेटौडा र दुहबीमा राखिएका प्राधिकरणका दुई थर्मल प्लान्टको ५३ मेगावाटसमेत जोड्दा हालसम्म जम्मा ९ सय ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस