Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा फैलँदै श्रीलंका आतंकः अर्थविद गौचन भन्छन् ‘दुई देशको अर्थतन्त्र तुलना गर्नै मिल्दैन’

बसन्त पाण्डे

मंगलबार, २२ चैत्र २०७८, २० : ०७ मा प्रकाशित

नेपालमा फैलँदै श्रीलंका आतंकः अर्थविद गौचन भन्छन् ‘दुई देशको अर्थतन्त्र तुलना गर्नै मिल्दैन’

दक्षिण एसियाली मुलुक श्रीलंकाको अर्थतन्त्र निकै गम्भीर मोडमा आईपुगेको छ। बैदेशिक मुद्राको संचिति अत्यन्तै न्यून हुँदा अत्यावश्यक कुराहरु पनि आयात गर्न नसक्ने अवस्थामा श्रीलंका पुगेको छ। हिजो राष्ट्र बैंकले वाणिज्य बैंकका सीइओहरुलाई बोलाएर LC र गाडी कर्जा ठप्पै पार्न निर्देशन दिएको भन्ने समाचार बाहिरीएपछि सञ्चार माध्यमहरुले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्न लागेकाले राष्ट्र बैंकले कडा स्टेप लिँदै गएको भन्ने आशयका समाचारहरु सम्प्रेषण गरेसँगै सर्वसाधारणमा 'श्रीलंका आतंक' फैलिएको छ। 

श्रीलंकाको अर्थतन्त्र यो अवस्थासम्म कसरी आइपुग्यो? श्रीलंकाको अर्थतन्त्र यो हदसम्म नाजुक हुनुमा कुन कुन कुराहरुले भूमिका खेलेका छन् ? हाम्रो अर्थतन्त्र अहिले कुन अवस्थामा छ र श्रीलंकाको जस्तो नाजुक बन्न सक्ने सम्भावना कति छ भन्ने जिज्ञासा अर्थविद डा. विश्वाश गौचन समक्ष राखेका छौं।  

श्रीलंकाको अवस्था कसरी यस्तो नाजुक बन्यो ? 

१) अत्याधिक बैदेशिक ऋण 

श्रीलंकाको कुल ग्राहस्थ उत्पादन (GDP) को ६२% को हाराहारीमा बैदेशिक ऋण रहेको छ। श्रीलंकाको सबैभन्दा ठुलो कर्जादाता चीन हो। चीनसँग लिएको कर्जालाई उसले विकास पूर्वाधारहरु निर्माणमा खर्च गर्यो। निकै महत्वाकांक्षी रुपमा अगाडी बढाइएको पूर्वाधार निर्माण आयोजनाहरुमा ठूलो रकम फस्यो तर ती आयोजनाहरुबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेन। श्रीलंकाली बैंकहरुले पनि विदेशबाट धेरै ऋण लिएका छन्। श्रीलंकाको बैदेशिक मुद्राको संचिति अत्याधिक रुपमा घट्नुको प्रमुख कारण नै बैदेशिक ऋणको सावाँ ब्याज हो।  

२) अर्ग्यानिक मुलुक बनाउने महत्वाकांक्षा

श्रीलंकाको बैदेशिक मुद्रा आर्जन गर्ने एउटा मुख्य स्रोत भनेको चियापत्ती निर्यात हो। देशलाई पूर्ण रुपमा अर्ग्यानिक उत्पादन गर्ने देश बनाउने भन्दै श्रीलंकाले किटनाशक तथा रासायनिक मलको आयातमा रोक लगायो। किटनाशक तथा रासायनिक मलको प्रयोग नगर्दा कृषिजन्य उत्पादनमा ५०% को हाराहारीमा गिरावट आयो। अर्ग्यानिक उत्पादनहरुलाई उच्च मूल्यमा बेच्न सकिने भन्ने जुन श्रीलंकाको अनुमान थियो तर त्यो अनुसार श्रीलंकाली उत्पादनहरुले बजारमूल्य पाउन सकेन। यसले पनि बैदेशिक मुद्राको संचितिलाइ झन् घटायो।  

३) आतंकबादी हमला र कोभिडको असर

यसअघि श्रीलंकामा आतंकबादी हमला भैसकेपछि आफ्नो लगानी असुरक्षित भएको भन्दै बिदेशी लगानीकर्ताहरुले श्रीलंकाबाट आफ्नो लगानी झिके। श्रीलंकाको आम्दानीको अर्को मुख्य स्रोत पर्यटन हो। कोभिडको कारण पर्यटन उद्योग ठप्प भएपछी त्यसले पनि श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर पारेको देखिन्छ।  

नेपालको अवस्था कस्तो छ ?
- नेपालको बैदेशिक ऋण श्रीलंकाको तुलनामा निकै कम छ र यहाँका बैंकहरुले विदेशी ऋण निकै कम मात्र लिएका छन। श्रीलंकाको आयको ठूलो हिस्सा बिदेशी ऋण तिर्दैमा ठिक्क हुन्छ तर नेपालको अवस्था त्यस्तो बिल्कुलै छैन। 

- अहिले नेपालसँग करिब ६ महिनाको आयातलाई धान्ने बिदेशी मुद्राको संचिति रहेको छ। कोभिडको ९ महिनाको पिरियडमा नेपालको शोधनान्तर बचत ईतिहासकै उच्च लेभलमा पुगेको थियो। तर जसरी त्यो बेलामा बिदेशी मुद्राको संचिति उच्च रुपमा बढेको थियो त्यसरी नै गएको १२ महिनामा आयात निकै उच्च हुँदा त्यसरी नै बिदेशी मुद्राको संचिति घट्न पुग्यो। अहिले सबैको चासोको विषय बैदेशिक मुद्राको संचिति नै हो। केहि समयअघिसम्म १४ महिनाको आयात धान्ने वैदेशिक मुद्रा संचिति अहिले ६ महिनाको आयात धान्नेमा सिमित हुँदा यो कुरामा चाहिं सचेत हुनुपर्ने देखिएको छ। 

श्रीलंका र नेपालको परिदृश्य फरक छ। श्रीलंकाको जस्तो अवस्था नेपालमा आउने सम्भावना खासै छैन। पछिल्लो समय राष्ट्र बैंकले विभिन्न कुराहरुको आयातमा कडाई गरेसँगै आयातमा कमी पनि आएको छ। पछिल्लो तथ्यांक हेर्दा खान पकाउने ग्यास मात्रै एक बर्षमा ५० अर्ब भन्दा बढीको आयात हुने गरेको देखियो।  यदि त्यो ग्यासको आयातलाई मात्रै बिधुतिय चुलोले प्रतिस्थापन गर्न सकियो भने त्यसले बिदेशी मुद्राको संचिति बढाउन मद्दत गर्छ। त्यस्तै सरकारले आयातलाई थप कडाई गर्नु आवश्यक छ।  सरकारले मात्र नभई आम नागरिकले पनि मुलुक बाहिरबाट आयात गर्नुपर्ने कुराहरु सकेसम्म प्रयोग नगर्ने, पेट्रोलियम पदार्थको उपभोग कसरी कम गर्न सकिन्छ ती उपायहरु अपनाउने जस्ता काम गर्नु आवश्यक भैसकेको छ। 

समग्रमा नेपालको अर्थतन्त्रको अहिलेको अवस्था खासै बिग्रिसकेको छैन। बाहिर आएजस्तो आत्तिइहाल्नुपर्ने अवस्था छैन तर सावधान हुनुपर्ने अवस्था भने अवश्य हो।   
(अर्थविद डा. गौचनसँग गरिएको कुराकानीको सम्पादित अंश)
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको