कोरोना संकटका कारण थिलथिलो बनेको अर्थतन्त्रको असरले सर्वसाधारण पिल्सँदै गईरहेका छन् । बजारमा देखिएको आर्थिक तरलता संकटको समाधानमा सरकार विफल हुदाँ महँगाई दिन प्रतिदिन बढ्दै गईरहेको छ । नेपाल राष्ट्र बैकंले प्रकाशित गरेको आर्थिक वर्ष ०७७/७८ को ७ महीनाको तथ्यांक अनुसार मुद्रास्फीती ५.९७% रहेको छ, जबकी गत वर्षको सोही अवधीमा मुद्रास्फीती २.७०% थियो ।
बढदो मुद्रास्फीती र पछिल्लो समय सुरु भएको रुस युक्रेन युद्धको असर उपभोग्य वस्तु तथा सेवामा पर्दा मुल्य अकासीएको छ । खाद्य तथा पेय पर्दाथ समुहतर्फ घ्यु तथा तेलमा २०.६८%, तरकारीमा १४.०७% र दाल तथा गेडागुडीमा ९.३६% महंगाई बढेको छ । त्यस्तै गैर खाद्य तथा सेवा समुहमा यातायातमा १५.८७%, शिक्षामा ७.८७% र घरायसी सामग्रीमा ५.९२% महँगाई बढेको हो ।
सरकारले यात्रुवाहक सवारी साधनको भाडा १०% ले बृद्धी गरेको छ । मालवाहक सवारी साधनमा पनि पहाडी क्षेत्रमा १३% र तराई क्षेत्रमा १५% ले भाडा वृद्धी गरको छ । लम्बिँदै गईरहेको रुस युक्रेन युद्धका कारणले पेट्रोलियम पर्दाथको मुल्य आकासिँदा यो दर अझै बढ्ने निश्चित जस्तै छ ।
तर यस्तो महँगाई बढदै जादा पनि सबैभन्दा बढी मारमा परेको समुह श्रमिक तथा मजदुर वर्गको तलव तथा ज्यालामा वृद्धी हुन सकेको छैन । श्रमिक वर्ग मासीक तलव १५००० र ३००० समाजीक सुरक्षा भत्तामा रहेको छ । यो रकमले उनीहरुलाई जीवन धान्न धौ धौ परिरहेको छ ।
यस्तो कठीन अवस्थामा पनि राज्यले आम सर्वसाधारणलाई कुनै सहुलियत दिएको देखिँदैन । त्यही भएर चालु आर्थिक वर्षको ७ महिनामा राजस्वमा २३%, रोजगारी आयकरमा ३६% र भ्याटमा १३% को बढोत्तरी भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस