Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको अहिलेको अवस्था: अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ !

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ०७ : ३८ मा प्रकाशित

लगानीकर्ताको अहिलेको अवस्था: अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ !

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से इन्डेक्स ४४.५६ अंकले घट्यो। हिजो आईतबार सार्बजनिक बिदा भएकाले सेयर बजार खुलेन। गत बिहिबार सरकारले राष्ट्र बैंकका गभर्नरलाई विभिन्न आरोपहरु लगाउँदै छानबिन गर्ने निर्णय गरेसँगै सेयर बजार तिब्र रुपमा बढ्ने धेरैको विश्लेषण थियो। त्यस्तै हिजो आईतबार मात्रै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैशाख महिनामा निक्षेपतर्फको ब्याजदर नबढाउने निर्णय पनि गरेको थियो। 

२९८३ को बिन्दुबाट तलतिर खस्न थालेको बजार २४०० आसपासमा आइपुगिसकेको अवस्थामा ब्याजदर नबढ्ने र पुँजीबजार मैत्री नमानिएका गभर्नर निलम्बन हुँदा यी दुईवटा समाचारहरुले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अनुमान धेरैले गरेका थिए। यदि गभर्नरलाई निलम्बन नगरिएको अवस्था हुन्थ्यो भने पनि ब्याजदर नबढ्दा सेयर बजार बढ्ने आँकलन विश्लेषकहरुले गरेका थिए।  पछिल्लो समय निक्षेप पनि लगातारजसो बढ्दै गईरहेको छ। आयातमा थप कडाई गर्न अत्यावश्यक बाहेकका बस्तुहरुमा एलसी नखोल्न पनि बैंकहरु सहमत भएका छन।  मुलुक निर्वाचनको संघारमा रहँदा तरलता पनि सहज भएर जाने अपेक्षा गर्न सकिन्छ। यी सबै सकारात्मक परिदृश्यहरु बजारमा हुँदा हुँदै पनि बजार किन उच्च अंकले घट्यो? बढ्छ भनेर अपेक्षा गरिएको अवस्थामा बजार घट्नुलाई कसरी लिने ?

पछिल्लो समय अर्थतन्त्र संकट उन्मुख भईरहेको अवस्थामा राष्ट्र बैंकका गभर्नरको निलम्बनले अर्थतन्त्रलाई थप संकट उन्मुख बनाउने भन्दै अर्थशास्त्री तथा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गर्दै गर्दा आम लगानीकर्ताहरुको मनोबल गिरेको देखिन्छ। हिजोमात्रै नेकपा एमालेले गरेको एक पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरुले अर्थतन्त्र जर्जर भैसकेको र नेपालको अवस्था श्रीलंकाको जस्तो बन्न धेरै समय नलाग्ने बताएका थिए।  त्यसले पनि आम लगानीकर्ताको मनोविज्ञानमा त्रास संचार गरिएको हो कि भन्ने विश्लेषण पनि धेरैले गरेका छन।  

विशेषगरी अन्तिम समय नेप्से डाउन ट्रेन्डमा चल्दै गर्दा राम्रा समाचारहरु आउँदा नाफा बुक गर्न खोज्नेहरुको संख्या बढ्ने र सेलिङ्ग प्रेसर आउने गरेको छ। नकारात्मक समाचारहरुमा रिटेल लगानीकर्ताहरु आत्तिएर सेयर बेच्नतिर लाग्ने र सकारात्मक समाचारहरु आउने बित्तिकै अब किन्नै पाइदैन कि जसरी उच्च मूल्यमै भएपनि किन्छु भनेर बाई अर्डर राख्ने कुरालाई राम्ररी बुझेका स्मार्ट लगानीकर्ताहरुले यो प्याटर्नलाई टपक्कै समातेर ट्रेड गरिरहेको पनि देखिएको छ।  

'यसअघि स्थानिय निर्वाचनको घोषणा भएको भोलिपल्ट सुरुवाती चरणमा नेप्से उच्च अंकले बढ्यो तर अन्तिममा रातो भएर बन्द भयो।  त्यसपछि बजार लगातार घट्न थाल्यो।  त्यस्तै MCC पास भएको भोलिपल्ट सुरुमा हाइड्रोपावर सेक्टरका कम्पनीहरु मज्जाले बढे तर अन्त्यमा घटेरै बन्द भयो।  बिमा समितिले इन्स्योरेन्स कम्पनीहरुको पुँजी बढाउने घोषणा गरेको भोलिपल्ट लाइफ र नन लाइफ इन्डेक्स अन्तिममा घटेरै बन्द भए।  यी सबै घटनाक्रमहरु देखेका लगानीकर्ताहरुले आजको गुड न्युजलाइ पनि बेच्ने अवसरको रुपमा प्रयोग गर्दा बजार घटेर बन्द भएको जस्तो मलाई लाग्छ,' बजारमा लामो समयदेखि ट्रेड गर्दै आएका एक लगानीकर्ता भन्छन।  

नेपालीमा प्रचलित एउटा उखान छ, 'अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ।' यसअघिका गुड न्युजहरुलाई बेच्ने अवसरका रुपमा प्रयोग गर्नेहरुले जिते किनकि त्यो समयमा बजार मूल्य माथि माथि नै थियो।  अहिले बजार लगातार ६०० अङ्कको हाराहारीमा घटिसकेको छ। यसअघिका ठूला करेक्सनहरुमा पनि बजार २०% को हाराहारीमा घट्ने गरेको थियो। २९८३ बाट बजार लगभग २०% ले घटिसकेको छ।  त्यसैले अहिलेको समयलाई बुझ्दै यो बटमलाइ किन्ने अवसरको रुपमा प्रयोग गर्ने लगानीकर्ताहरुले जिन्ने सम्भावना उच्च देखिन्छ।  'अगुल्टो' र 'बिजुली चम्केको' बिचको फरक छुट्याउन सक्ने लगानीकर्ताहरुले नै बजारमा कमाउने हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको