Like us!
Follow us!
Connect us!
Watch us!

झन्झटिलो बन्दै सुपारी आयात, अर्बौं लगानी र हजारौं रोजगारी संकटमा

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १४ : ४३ मा प्रकाशित

झन्झटिलो बन्दै सुपारी आयात, अर्बौं लगानी र हजारौं रोजगारी संकटमा

कच्चा पदार्थको रूपमा प्रयोग गरिने सुपारीको आयात झन्झटिलो बन्दा अर्बौं लगानी र हजारौं रोजगारी संकटमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । संसदीय दलमा भएको छलफलमा उद्योगी तथा व्यवसायीहरूले सुपारी आयातमा झन्झट हुँदा लगानी नै जोखिममा परेको बताएका हुन् ।

छलफलमा सहभागी व्यवसायीहरूका अनुसार उद्योगमा रहेको मौज्दात सुपारी सकिइसकेको छ । करिब २/३ महिनालाई मात्र राखिने स्टक सकिएको र नयाँ आयात प्रक्रियामा झमेला हुँदा लगानी जोखिम तथा रोजगारी नै संकटमा परेको उनीहरूले बताएका हुन् । विदेशबाट आयातित सुपारीबाट गुट्का तथा पान बनाएर बिक्री वितरण गरिन्छ ।

छलफलमा सहभागी श्रीराम टोबाको उद्योगका प्रबन्धक रघु घिमिरेले उद्योग नै बन्द गर्नुपर्ने स्थिती श्रृजना भएको उल्लेख गरे । उनले भने, ‘उद्योग नै सञ्चालन गर्न नदिने भए अलग पाटो भयो । तर, सञ्चालन गर्न दिने तर कच्चा पदार्थ ल्याउन नदिने नीति लिइयो ।’ ‘विदेशबाट नेपालमा कच्चा पदार्थ आयात गर्न कम्तिमा ५० दिन लाग्छ । तर, हाल उद्योगमा मुस्किलले एक सातालाई मात्र पुग्ने सुपारी छ,’ उनले भने, ‘अब उद्योग चलाउनै नसकिने भयो ।

 उद्योग बन्द हुने भएपछि श्रमिकलाई कता पठाउनी भन्ने चिन्ता उत्पन्न भएको घिमिरेले बताए । झापाका किसानसँग गएर १÷१ किलो गरेर सुपारी संकलन गरेर यतिबेलासम्म उद्योग चलाउँदै आएपनि अब मौज्दात सकिएकाले उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

यस्तै, देउती गुट्का उद्योगका प्रबन्धक टोपबहादुर शाहीले गुट्काको कच्चा पदार्थका रूपमा रहेको सुपारीको आयात रोकिँदा समस्या भएको बताए । उनले कच्चा पदार्थको सहज आपूर्तिका लागि धेरै ठाउँमा पुगेपनि कतैबाट सुनुवाई नहुँदा उद्योग सञ्चालन नै गर्न नसक्ने स्थितीमा पुगेको जानकारी दिए । गुट्का र पान उद्योगमा आश्रित उद्योगमा अर्बौ लगानी र हजारौं रोजगारी श्रृजना भइरहेपनि सुपारी आयात गर्न नपाउँदा लगानीसँगै रोजगारी समेत संकटमा परेको शाहीको भनाइ छ ।

‘यस क्षेत्रबाट राज्यले वार्षिक अर्बौ रूपैयाँ राजश्व समेत संकलन गर्छ । हामीले हजारौंलाई रोजगारी दिएका छौं,’ उनले भने, ‘गुट्का र पानको आयात रोकिएको छ । कच्चा पदार्थका रूपमा ल्याइने सुपारीमा मूल्य अभिवृद्धि गरिएको छ ।’ यति गर्दा गर्दै राज्यले सुपारी आयातकर्ता र गुट्का उद्योगीलाई फरक नजरले हेरेको शाहीले बताए ।

यसैगरी, पान व्यवसायी टेकबहादुर अधिकारीले नेपालभर करिब ६० हजार पान व्यवसायी रहेको बताए । उनले सुपारीबाट बन्ने पानको बिक्रीमा लागेका धेरै जनाले यसबाट रोजगारी पाइरहे पनि आयातमा झन्झट हुँदा हजारौंको ख्यामा रहेको रोजगारी संकटमा परेको बताए । ‘पान पसल सञ्चालनका अनुमति लिएपछि र कर तिरेपछि सजिलै व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ,’ उनले भने, ‘सरकारले अनुमति दिने र कर लिने तर कच्चा पदार्थ नदिने नीति नलिओस् ।’

यसैबीचमा समितिका सांसदहरू देशभरका गुट्का उद्योग भ्रमण गरेका छन् । समितिले यसअघि, तत्काललाई सुपारीको आयात अनुमति नदिन सरकारलाई निर्देशन दिँदै गुट्का उद्योगको निरीक्षणमा पुगेका थिए । त्यसक्रममा, सुपारीबाट बन्ने गुट्का र यता उद्योगमा भएको लगानी तथा रोजगारीको अवस्था देखेपछि सुपारी आयातमा लगाएको रोक खुलाउने तयारी समितिले गरिरहेको छ ।

यसअघि, लिखितरूपमै सुपारीको आयात रोक्न निर्देशन दिएको समितिले सरकारलाई लिखित रूपमै आयात खुलाउन निर्देशन दिने तयारी गरिरहेको छ । उद्योगी व्यवसायी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफलपछि वास्तविक उद्योगीको आवश्यकताअनुसार सुपारीको आयात खुलाउन दिन समिति तयार भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको