त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालनमा आएको हो ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दियो । प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरूपमा सञ्चालन आउनु ठुलो उपलब्धी भएको बताँउदै ७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा भएको जनायो ।
प्राधिकरणले विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको जानकारी पनि दिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि सुरु हुने छन् ।
आजदेखि नयाँ धावनमार्गबाटै आन्तरिक उडान सञ्चालन भइसकेको छ । तथापि अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपतकालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस