Like us!
Follow us!
Connect us!
Watch us!

किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नु भन्दा आजै सचेत बन्ने कि ?

राधा पोखरेल

मंगलबार, १३ बैशाख २०७९, ०८ : १९ मा प्रकाशित

किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नु भन्दा आजै सचेत बन्ने कि ?

जेष्ठ लाग्दा सम्म नतात्तिने काठमाण्डौं यसपालि त चुनावले गर्दा होला बैषाखमै तातिएको छ । देश त साँच्चै चुनावमय भएको छ । देश पुरै तात्दै छ चुनावी माहौलले स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता भएको थियो । मनोनयनको संख्या १ लाख ३७ हजारभन्दा बढी पुग्यो, विवरण थपिने क्रम जारी रहेको छ ।

७४ को चुनाव बाम गठबन्धनमा भोट मात्र हालिएन, भोटै माँगेर हिँडियो । प्रचार प्रसारमा हिँड्दा कति छाक भोकभोकै बसेको पनि बिर्सिन नपाउँदै चुनाबले फेरि पनि छपक्कै छोपिसकेको छ ।

यसपालि त कुनै पनि पार्टीको प्रचारमा हिँड्दिन । दल र नेताहरूको ताल देखेर भित्रैदेखि फ्रस्टेसन सुरू भएको छ । देश कुनै वादको संकीर्ण सोंच राख्ने दल र नेताहरूबाट होइन, फराकिलो सोंच बोकेका, सही भिजन अनि देश र जनताप्रति समर्पित सहासी नेताहरूले बनाउने रहेछ । म त आजकल त्यस्तै नेताहरूको खोजीमा छु । अहिलेको चुनावमा दलहरू, नेताहरूले मात्रै नभएर हामी मतदाताहरूले पनि सिक्न पर्ने शिक्षा र सच्याउनुपर्ने धेरै कुराहरू छन् ।

दलहरूको चुनावी घोषणा-पत्र पढ्दा अहिले पनि सपनाको पुलिन्दा जस्तो लाग्छ । गरिबी, बेरोजगारी छु मन्तर गर्ने रे ! भ्रष्टाचार रोक्ने, सुशासन र सदाचार कायम गर्ने वाचा गरेका छन् आ-आफ्नो घोषणा-पत्रमा । तर, चुनावमा पैसाको खोला बगाउन सुरू गरिसकेका छन् नेताहरूले । अहिले चुनावमा खर्च भएको पैसा भोलि भ्रष्टाचार नगरी कसरी असुल उपर हुन्छ ? के जनताको नाममा मिनाहा गरिदेलान् त नेताहरूले ? असंभव । त्यसैले नेतागण यो भ्रष्टाचार गर्न वाध्य पार्ने निर्वाचन प्रणाली परिबर्तन गर्नुस् । अनि मात्रै पत्याउँला सुशासन र सदाचारका कुरा ।

लोकतन्त्रको सर्वाधिक सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । निर्वाचनको अर्थ वास्तवमा जनता आफ्नो मालिक आफैँ बन्नु हो । तर बिडम्बना, हामीले जुन लोकतन्त्र र निर्वाचन प्रणालीको प्रयोग गरिरहेका छौं, यसले जनतालाई मालिक होइन; दास नै बनाइरहेको छ ।

निर्वाचन जनताका लागि उत्सव हुनुपर्ने हो । तर, शासकहरूको स्वार्थ, नेता-कार्यकर्ताको अदुरदर्शिता र मतदाताहरूको अचेतनताको कारण यो निर्वाचन देश र जनताका लागि अभिशाप बन्दैछ । मतदाताहरूलाई डर, धाकधम्की र बिभिन्न प्रलोभनमा पारी मत प्राप्त गर्ने उही पुरानो खेलको पुनरावृत्ति हुने देखिन्छ । हामीले अझै पनि यिनैलाई जिताएर भ्रष्टाचार दुगुना पार्ने ? अझै पनि यिनलाई जिताएर दण्डहीनता तीनगुणा पार्ने ? अझै यिनीहरुलाई जिताएर राज्यकोषको दोहन चौगुणा पार्ने ?

निर्वाचन आयोगले खर्चको एउटा सीमारेखा त तोकिदिएको छ । तर, त्यो सीमा रेखाभित्र अपवादमा बाहेक कुनै पार्टीको कोही उम्मेदवार बस्ने देखिँदैन।

हामी मतदाताहरूले हेक्का राख्नुपर्ने कुरा के छ भने, हाम्रो एक भोट कतै भ्रष्टाचारको लाइसेन्स त बन्दै छैन ? अहिले चुनावमा करोडौं रूपैयाँ खर्च गर्नेले भोलि त्यसको साँवा र ब्याज नअसुली छोड्छ ? पक्कै असुल्छ । त्यो हामी जनताको नाममा आएको बजेटबाटै अयो देशलाई बिगार्ने राजनीतिक ठेकेदारहरूको हामी मतदाता पनि मतियार हुनेछौं । देश बनाउने हतियार हाम्रो हातमा छ, हतियार सही निसानामा भेदन गरौं; कोही कसैको मतियार नबनौं । तपाईं हाम्रो एक मतले देश सुखी र समृद्ध बन्न सक्छ । भोलि किनारामा बसेर धुरूधुरू रूँदै धारे हात लाएर नेतालाई सराप्नुभन्दा आजै सचेत बनौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको