Like us!
Follow us!
Connect us!
Watch us!

अचाक्ली बढ्यो मूल्य, एक वर्षमा ४२० प्रतिशतले बढ्यो गोलभेंडाको मूल्य

पत्रपत्रिका

मंगलबार, १० जेठ २०७९, ०८ : १८ मा प्रकाशित

अचाक्ली बढ्यो मूल्य, एक वर्षमा ४२० प्रतिशतले बढ्यो गोलभेंडाको मूल्य

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ। तरकारीदेखि पेट्रोलियम पदार्थको मूल्य एकैसाथ बढ्दा उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। एकै वर्षको अन्तरमा तेल, घिउ, जिरा, धनियाँ, गेडागुडी, दाल, चामल, गहुँ, मकैलगायतका अधिकांश खाद्य वस्तुको मूल्य बढेर दोब्बर पुगेको छ। 

बजारमा गोलभेंडाको मूल्य अत्याधिक अर्थात् वार्षिक ४२० प्रतिशतले बढेको छ। अहिले गोलभेंडा प्रतिकिलो १ सय ५० रुपैयाँ पर्छ। यद्यपि, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको जेठ ९ गतेको मूल्यसूचीअनुसार गोलभेंडाको थोक मूल्य नै प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष यो समयमा प्रतिकिलो न्यूनतम १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म थियो। अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम वस्तुको मूल्य बढेसँगै नेपालमा आयातित हुने सबै वस्तुको मूल्य बढेको विश्लेषण गरिन्छ। तर, अहिले तरकारीमध्ये सबैभन्दा बढी गोलभेंडाको मूल्य छ।

सिमी, चिचिन्नो, आलुलगायतका मौसमी तरकारीको मूल्य सामान्य नै रहे पनि बेमौसमी तरकारी काउली, बन्दालगायतको भने तुलनात्मक रूपमा बढेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन्। उनका अनुसार बजारको लय हेर्दा मुलुकको आन्तरिक उत्पादनले मात्रै नधानेकाले भारतबाट गोलभेंडा आयात गर्नु परेको र अहिले भारतमा पनि मागअनुसार आपूर्ति हुन नसकेकाले अत्याधिक मूल्य बढेको हो। ‘अन्य तरकारीको मूल्य सामान्य छ। वर्षे तरकारीको मूल्य कमै छ। गोलभेंडाका भान्छामा धेरै चाहिने वस्तुमा पर्ने भएकाले पनि यो भएको हो। आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट पनि पर्याप्त नआउँदा मूल्य बढेको छ,’ उनले भने। 

गत वर्ष जेठ ९ मा गोलभेंडाको मूल्य न्यूनतम प्रतिकेजी १५ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म थियो। तर, अहिले मागअनुसार आपूर्ति नहुँदा थोक मूल्य नै प्रतिकेजी १३० पुगेको श्रेष्ठ बताउँछन्। ‘महँगीले कालीमाटीमा बिहान आए मात्रै गोलभेंडा पाइने तर, दिउँसो नपाउने स्थिति भएको छ,’ उनले भने। भारतबाट उल्लेख्य परिमाणमा गोलभेंडा आएको छैन। अहिले गोलभेंडाको सिजन पनि होइन। बढी उतै खपत हुने देखिएको छ। श्रेष्ठका अनुसार कालीमाटी बजारमा मात्रै पछिल्लो १ महिनामा  भारतबाट १ सय २२ टन मात्रै गोलभेंडा आयात भएको छ। नेपालभित्र र भारतको गरेर एक महिनाका बीचमा २ हजार ६५ टन भित्रिएको छ।  

उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना तरकारीमा मूल्य बढ्नुको मुख्य कारण बिचौलिया हाबी भएको उनको तर्क छ। यसैले  बिचौलिया नियन्त्रण नभएसम्म तरकारी, फलफूल, माछामासुको मूल्यवृद्धि नियन्त्रण हुँदैन भनेर यसबारे सरकारलाई पनि कार्यपत्र पेस गरेको उनले जानकारी दिए। दिनप्रतिदिन यस्ता दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा भान्छा महँगिएको हो। तुलनात्मक रूपमा गोलभेंडा पछि सबैभन्दा बढी तेलको मूल्य बढेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत वर्षको जेठ पहिलो साताको तुलनामा अहिले काँचो तोरीको तेल प्रतिलिटर ५६.२५ प्रतिशत (१३५ रुपैयाँ)ले बढेको छ। सो दरले बढ्दा काँचो तोरीको तेल प्रतिलिटर ३ सय ७५ रुपैयाँ पुगेको छ। जबकि गत वर्ष प्रतिलिटर २ सय १० रुपैयाँ थियो। भुटेको तोरीको तेल प्रतिलिटर ४ सय १० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष प्रतिलिटर ३ सय २० रुपैयाँ थियो। एकै वर्षको अन्तरमा २८.१३ प्रतिशत (थप ९० रुपैयाँ)ले बढेको हो। 

यस्तै, सनफ्लावर तेल प्रतिलिटर ५२.१७ प्रतिशत (१ सय २० रुपैयाँ)ले बढेर ३ सय ५० रुपैयाँ पुगेको छ। गत जेठमा प्रतिलिटर २ सय ३० रुपैयाँ थियो। यसैगरी, भटमास तेलको मूल्य एकै वर्षको अन्तरमा ४५.४५ प्रतिशत (१ सय रुपैयाँ)ले वृद्धि भएको छ। गत वैशाख–जेठतिर प्रतिलिटर २ सय २० रुपैयाँको भटमास तेलको मूल्य बढेर अहिले ३ सय २० रुपैयाँ पुगेको छ। 

यस्तै, डाल्डा घ्यू र नेपाली घ्यूको मूल्य पनि दोब्बरले बढेको छ। एकै वर्षको अन्तरमा डाल्डा घ्यू–प्रतिलिटर ५२.३८ प्रतिशत (११० रुपैयाँ)ले बढेर ३ सय २० रुपैयाँ पुगेको छ। जबकि गत वर्ष प्रतिलिटर २ सय १० रुपैयाँ थियो। यससँगै, नेपाली घ्यू–प्रतिकिलो ५० प्रतिशतले बढेर प्रतिकिलो १ हजार २ सय रुपैयाँ पुगेको छ। गत वर्ष प्रतिकिलो ८ सय रुपैयाँ थियो। 

तेल तथा घ्यूसँगै बजारमा गेडागुडी तथा दालको मूल्य पनि उत्तिकै महँगो छ। संघको तथ्यांकअनुसार गेडागुडी तथा दालअन्तर्गत गत जेठको तुलनामा हाल प्रतिकिलो ६५ रुपैयाँसम्म थप वृद्धि भएको छ। यसरी वृद्धि हुँदा कालोभटमास प्रतिकिलो २ सय २५, कैलोभटमास १ सय ७५, सेतो सिमी २ सय २०, सेतो केराउ १२५, सानो केराउ १६०, राजमा २२०, मुसुरो १७०, मुगको दाल १९०, रहरको दाल १८०, सानो चना १०५, बोडी १७० रुपैयाँ र हरियो केराउ प्रतिकिलो १४० रुपैयाँ पुगेको छ। 

यस्तै मस्यौराको मूल्य पनि ह्वात्तै बढेको छ। सुक्खा तरकारीमा प्रयोग हुने मस्यौराको मूल्य वार्षिक ८७.५० प्रतिशतले बढेको छ। किलोमै १ सय ५ रुपैयाँले बढेर २२५ रुपैयाँ पुगेको संघले जानकारी दिएको छ। यसअघि प्रतिकिलो १ सय २० रुपैयाँ थियो। यसैगरी अन्नअन्तर्गत चामल मकै, गहुँलगायतको मूल्य पनि उच्च हँुदै गएको छ। चामलको मसिनो पिठोमात्रै किलोमा ११६.६७  प्रतिशतले वृद्धि भएर १ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ। यद्यपि त्रिशूलीको पोखरेली चामल प्रतिकिलो ५.८८ प्रतिशतले बढेर ९० रुपैयाँ पुगेको छ। लङ्गग्रेन बासमती चामल प्रतिकिलो वार्षिक २५ प्रतिशतले वृद्धि भएर १ सय ४५ रुपैयाँ पुगेको छ। यसअघि १ सय २० रुपैयाँ थियो। यस्तै, ताइचिन चिउरा पनि वार्षिक २५ प्रतिशतले बढेर प्रतिकिलो १४५ रुपैयाँ पुगेको छ। 

मकै वार्षिक २२.२२ प्रतिशतले बढ्दा ५५ रुपैयाँ पुगेको छ। यस्तै गहुँ प्रतिकिलो ११.११ प्रतिशतले बढेर ५० रुपैयाँ पुगेको छ। मैदा ९ प्रतिशतले बढेर प्रतिकिलो ६० रुपैयाँ पुगेको छ। तेलमै प्रतिलिटर १ सय ३५ रुपैयाँसम्म र घ्यूमा ४ सय रुपैयाँसम्मको अत्याधिक मूल्य बढ्दा आमग्राहकको भान्छा महँगिएको छ। घरको गृहिणीसँगै किराना पसल सम्हाल्दै आएकी चन्द्रागिरी–१५ की प्रमिला ठकुरी दैनिक उपभोग्य वस्तुको महँगीले ढाड नै सेकिएको गुनासो गर्छिन्। ‘ग्यासको भाउ पनि एकै चोटी २ सयले बढ्यो। खाने तेलदेखि खाद्यवस्तुहरू र साबुनलगायतका सबैको मूल्य बढेको छ। गोलभेंडाको त झन् छोइनसक्नु भयो। के भएको हो यस्तो, अचाक्ली रूपमा महँगी बढ्यो ?’ उनले गुनासोसँगै प्रश्न गरिन्। अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको