Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सर्वेक्षण : विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्याे

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, १५ : ३१ मा प्रकाशित

आर्थिक सर्वेक्षण : विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्याे

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । 

कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करिब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ ।

सन् २०२० मा कूल पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २.१ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको थियो ।

कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किँदै गरेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । 

सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६.८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०.३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७.४ प्रतिशतले तीर्थयात्रा र १५.५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् । कूल पर्यटक आगमन सङ्ख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२.८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५.१३, बेलायत ५.७४, चीन ४.१० र बङ्गलादेश ३.३४ प्रतिशत छन् । 

नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको सङ्ख्या सबैभन्दा बढी रहेको छ ।  झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको