Like us!
Follow us!
Connect us!
Watch us!

मर्मत तथा पुनर्निर्माणका लागि हायात रिजेन्सीको सेवा अनिश्चितकालका लागि बन्द

अर्थ संसार

शुक्रबार, ०७ कार्तिक २०८२, २१ : ५३ मा प्रकाशित

मर्मत तथा पुनर्निर्माणका लागि हायात रिजेन्सीको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौंको पाँचतारे होटेल हायात रिजेन्सी काठमाडौं अनिश्चितकालका लागि बन्द भएको छ। भाद्र २३ र २४ गतेका दिन आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटेलको संरचना क्षतिग्रस्त भएपछि मर्मत र पुनर्निर्माणको काम सुरु गर्नुपर्ने आवश्यकता देखिएको हो।

होटेलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनद्वारा शुक्रबार जारी सूचनामा उल्लेख गरिए अनुसार, तोडफोड र आगजनीका कारण होटेल तत्काल सञ्चालनयोग्य अवस्थामा नरहेकोले सम्पूर्ण व्यवसायिक सेवा बन्द गरिएको छ।

“होटेलको मर्मत तथा पुनर्निर्माण कार्य प्रारम्भ गर्नु पर्ने अपरिहार्य भएको छ। मर्मतका क्रममा जोखिम र सुरक्षा संवेदनशीलता भएकाले होटेलबाट प्रवाह हुँदै आएको सम्पूर्ण व्यवसायिक सेवा रोकिएको छ,” सूचनामा भनिएको छ।

हायात रिजेन्सीले होटलमा कार्यरत सबै श्रमिक र कर्मचारीलाई अर्को सूचना जारी नहुन्जेल वा नयाँ निर्णय नआएसम्म होटल परिसरमा उपस्थित नहुन अनुरोध गरेको छ। होटल व्यवस्थापनले यसअघि नै प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल भएको जानकारी पनि दिएको छ।

भाद्र २३ र २४ गते काठमाडौंमा विभिन्न माग राख्दै गरिएको आन्दोलनका क्रममा राजधानीका केही व्यापारिक प्रतिष्ठान, होटल र उद्योगमा तोडफोड र आगजनी भएका थिए। त्यसै क्रममा तारागाउँस्थित हायात रिजेन्सी पनि क्षतिको सामना गर्न पुगेको हो।

हाल होटेलले क्षतिको पूर्ण मूल्याङ्कन र पुनर्निर्माणको तयारी सुरु गरेको जनाएको छ। तर, होटल कहिले पुनः सञ्चालनमा आउने भन्नेबारे औपचारिक जानकारी दिइएको छैन।

68fba4b95bb9b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको