Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी सडकमा ‘सिस्टम’ खोज्दैछ, AI अफिसमा ‘जागिर’ खाँदैछ। यो ‘बम’ को बारेमा खै त छलफल?

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, १९ : २४ मा प्रकाशित

जेनजी सडकमा ‘सिस्टम’ खोज्दैछ, AI अफिसमा ‘जागिर’ खाँदैछ। यो ‘बम’ को बारेमा खै त छलफल?

"देशमा ‘जेनजी’ (Gen-Z) को उत्पादन भयो, आन्दोलन भयो... तर समाधानको छलफलमा यो ‘जेनजी’ को आर्थिक भविष्य र उनीहरूमाथि आउँदै गरेको AI को यो ‘खतरा’ बारे खै त कतै कुरा उठेको? यो प्रश्न किन कसैले सोध्दैन?" यो प्रश्नले हाम्रो देशको बहस कति ‘सतही’ छ भन्ने देखाउँछ।

सही हो। हाम्रा भाइ-बहिनी (Gen Z) सडकमा(सरकारमा?) छन्। उनीहरू ‘ठालु’ हरूको सिन्डिकेट र भ्रष्टाचारको ‘जालो’ तोड्न ‘बबाल’ आन्दोलन पनि जारी छ रे। उनीहरू देशको ‘नयाँ उदाउँदा नेता’ हुन्, जसले हामीलाई आशा जगाएको छ। ताली! तर, एउटा डरलाग्दो ‘तर’ छ।
जुनबेला जेनजी सडकमा ‘अंकल’ हरूसँग लड्दैछन, ठीक त्यहीबेला एउटा अदृश्य ‘भूत’ (AI) ले उनीहरूको अफिसको ‘कुर्सी’ नै खाइदिँदैछ(खाइदियो?)।

भर्खरै, सेल्सफोर्स (Salesforce) ले एउटै झट्कामा ९,००० मध्ये ४,००० कर्मचारीको ‘पत्तासाफ’ गर्‍यो। किन? किनकि कम्पनीलाई मान्छेभन्दा AI ‘राइट’ लाग्यो रे! जागिर खाने र खोज्ने (विशेष गरी जेनजी) लाई ‘खतरा’ को घण्टी! अब जेनजी र उनीहरूका अभिभावकहरूले सास रोकेर पढ्नुहोस्। तपाईं अहिले सडकमा(सरकारमा?)हुनुहुन्छ, ‘सिस्टम’ परिवर्तन गर्न। तर भोलि जब तपाईं ‘सिस्टम’ भित्र छिर्न आफ्नो ‘मास्टर डिग्री’ को सर्टिफिकेट लिएर जागिर खोज्न जानुहुन्छ, तपाईंले प्रतिस्पर्धा गर्ने मान्छेसँग होइन, सित्तैमा चौबीसै घण्टा काम गर्ने AI सँग हो।

तपाईंले ५ दिन लगाएर बनाउने ‘रिपोर्ट’, AI ले ५ मिनेटमा बनाउँछ। तपाईंले गर्ने ‘कस्टमर सर्भिस’ को काम, AI ले तपाईं भन्दा ‘सस्तो’ मा गर्छ। यो त ‘बिरालो बाँधेर श्राद्ध गरेजस्तै’ भयो! जेनजी लड्दैछ ‘सिस्टम’ भित्र छिर्न, तर जबसम्म उनीहरू जित्छन्, त्यो ‘सिस्टम’ नै AI ले ‘कब्जा’ गरिसकेको हुन्छ। जुन ‘कुर्सी’ का लागि तपाईंहरू लड्दै हुनुहुन्छ, त्यो कुर्सी नै भोलि नहुन सक्छ। यो तपाईंको ‘स्किल’ को कमी होइन, यो ‘गेम’ नै परिवर्तन भएको हो। अर्थशास्त्रीज्यूहरू, तपाईंको ‘तथ्याङ्क’ को तमासा (हल्का रमाइलो)बन्द गर्नुहोस्! अब कुरा गरौं हाम्रा ‘विद्वान’ अर्थशास्त्री र नीति-निर्माताहरूको।

अर्थशास्त्रीज्यूहरू! तपाईंहरू Gen Z लाई ‘राजनीतिक टाउको दुखाइ’ मात्र सोच्दै हुनुहुन्छ। गलत! तपाईंहरू GDP बढेको र कम्पनीको नाफा ‘बबाल’ भएको ‘नक्कली’ आँकडा हेरेर मख्ख नपर्नुस्। तपाईंको तथ्याङ्कमा सेल्सफोर्सको नाफा(नेपाल को संदर्भ मा चौधरी को)देखिन्छ, तर ती ४,००० बेरोजगारको घरमा बलेको आगो देखिँदैन। भोलि यही Gen Z को ‘ब्याचलर-मास्टर’ को सर्टिफिकेट ‘खोस्टो’ हुँदा र उनीहरू लाखौंको संख्यामा ‘शिक्षित बेरोजगार’ बन्दा, त्यो ‘राजनीतिक’ होइन, ‘आर्थिक सुनामी’ बन्नेछ। तपाईंको ‘औद्योगिक युग’ को अर्थशास्त्रको किताबले यो AI को ‘आगो’ निभाउन सक्दैन। "आगो लागेपछि कुवा खन्ने" बानी छाड्नुहोस्, किनकि यो आगोले कुवा खन्दासम्म सिङ्गो पुस्ता (Gen-Z) नै सखाप पार्न सक्छ।  

‘रुट कज’ (Root Cause) - ‘सिन्डिकेट’ र AI परिणाम महा-विध्वंस:

यो सङ्कटको ‘रुट कज’ हो - अति-केन्द्रीकरण (Hyper-concentration)। नेपालकै सन्दर्भमा हेरौं:
गल्लीका किराना पसल मरे, भाटभटेनी र मलहरू ‘मोटाए’। जलविद्युत, मिडिया, शिक्षा, स्वास्थ्य... सबै क्षेत्रमा केही सीमित ‘घराना’ हरूको ‘सिन्डिकेट’ छ। जेनजी अहिले यिनै ‘ठालु’ र उनीहरूले पालेको राजनीतिक ‘भ्रष्टाचार’ विरुद्ध लड्दैछ।

अब सोच्नुहोस्: जब यही ‘सिन्डिकेट’ को हातमा AI पर्छ, तब के हुन्छ?

उनीहरूले आफ्ना बैंक, फ्याक्ट्री र मिडियामा AI प्रयोग गर्छन्, हजारौं कर्मचारी निकाल्छन्, नाफा ‘डबल’ गर्छन्, र त्यही नाफाले फेरि नेता किन्छन्। यसको मतलब, भोलि जेनजीले लड्नुपर्ने भ्रष्ट ‘नेता’ सँग मात्र होइन, उनीहरूलाई पाल्ने ‘अति-धनी AI-मालिक’ सँग हुनेछ। शत्रु झन् शक्तिशाली र अदृश्य हुँदैछ।

जेनजीको आन्दोलन र AI को समाधानलाई सँगै जोड्नुहोस्

सरोकारवाला निकायहरू, अब गम्भीर बन्नुहोस्। ‘टालटुले’ सुधारले चल्दैन।
जेनजीको राजनीतिक लडाइँ जायज छ, तर उनीहरूलाई आर्थिक ‘सुरक्षा’ पनि चाहिन्छ।
१. एकाधिकार तोड्नुहोस्: यी ठूला ‘घराना’ र ‘जायन्ट’ कम्पनीहरूको शक्तिलाई कानुन लगाएरै तोड्नुहोस्।
२. ‘रोबोट ट्याक्स’ लगाउनुहोस्: AI प्रयोग गरेर मान्छे हटाउने कम्पनीमाथि ‘AI लाभ कर’ वा ‘रोबोट ट्याक्स’ लगाउन नडराउनुहोस्।
३. ‘युनिभर्सल बेसिक इन्कम’ (UBI) को बहस सुरु गर्नुहोस्: यी ‘यूनिभर्सल बेसिक इन्कम’ (UBI) जस्ता कुरा अब ‘लक्जरी’ होइनन्, यो AI ले विस्थापित गर्ने जेनजीको ‘बाँच्ने अधिकार’ हो। माथि उठाएको करको पैसा सीधै नागरिकलाई ‘लाभांश’ को रूपमा बाँड्नुपर्छ।

यदि आज हामीले जेनजीको ‘राजनीतिक’ आन्दोलनलाई मात्र हेरेर उनीहरूको ‘आर्थिक’ भविष्यलाई बिर्सियौं भने, भोलि आउने ‘बेरोजगारहरूको विद्रोह’ को अगाडि यो आन्दोलन ‘सानो झिल्को’ मात्र साबित हुनेछ। कृपया स्वरूपमामा सुधार होइन गर्भ गृह मै प्रवेश गर्नु होस् ।

लेखक रबिन कँडेल नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव हुन । यो उनको निजी बिचार हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको