अमेरिकाको प्रतिष्ठित पूँजी बजार नास्डाक (NASDAQ) मा नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स (Fusemachines) को स्टक कारोबार बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
बौद्धिक कृत्रिमता (Artificial Intelligence) प्रविधिमा आधारित उक्त कम्पनीले करिब दुई वर्षअघि सीएसएलएम एक्विजिसन कम्पनी (CSLM Acquisition Corp) सँग गरेको ‘मर्जर’ (विलय) प्रक्रिया पूरा भएसँगै अब नास्डाकमा “FUSE” नामबाट कारोबार गर्न थालेको हो।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. मास्केले विश्वको अग्रणी वित्तीय बजारमा प्रवेश गर्नु कम्पनी र सम्पूर्ण नेपालीका लागि गर्वको विषय भएको बताए। उनले भने, “सानो समूहबाट सुरु भएको हाम्रो यात्राले आज विश्व बजारमा पुग्न सफल भएको छ। यो उपलब्धिले हामीलाई अझ नयाँ नवप्रवर्तन र फराकिलो दृष्टीको लागि प्रेरित गर्नेछ।”
डा. मास्केले जानकारी दिएअनुसार फ्युजमेसिन्समा हाल करिब ३५० जना कर्मचारी कार्यरत छन्, जसमा २६० जना नेपालमै कार्यरत छन्।
यसैबीच, नास्डाकले एक विज्ञप्ति जारी गर्दै CSLM Acquisition र Fusemachines Inc. बीचको मर्जर प्रक्रिया पूरा भएको र बिहीबारदेखि आधिकारिक रूपमा कारोबार सुरु भएको पुष्टि गरेको छ।
यो उपलब्धिसँगै नेपाल मूलका व्यक्तिद्वारा स्थापित कम्पनीले पहिलो पटक नास्डाकमा सूचीकृत हुने ऐतिहासिक सफलता प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली उद्यमशीलताको उपस्थिति सशक्त बनाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि उक्त उपलब्धिमा डा. मास्केलाई बधाई दिएका छन्। उनले फेसबुकमार्फत लेखेका छन्,
“आज NASDAQ मा फ्युजमेसिन्सको शेयर कारोबार सुरु भयो। संयोगवश टाइम्स स्क्वायरमा डा. समीर मास्केसँग भेट भयो। एक अग्रणी नवप्रवर्तकका रूपमा नेपालीहरूले सदैव उहाँलाई सम्मान गर्नेछन्।”
कम्पनीको मुख्य वित्तीय अधिकृत (CFO) मा क्रिस्टिन च्याम्बर्स रहेका छन्। मर्जरपछि कम्पनीको सञ्चालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ र सलमान आलम रहेका छन्।
यो उपलब्धिले विश्व बजारमा फ्युजमेसिन्सलाई नयाँ अवसरको ढोका खोलेको छ भने नेपाली लगानीकर्ताका लागि अन्तर्राष्ट्रिय स्तरमा गर्वको कारण बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस