Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा हैजा र फुड प्वाइजनिंग फैलिँदै, यसबाट कसरी जाेगिने ?

डा. रविन्द्र पाण्डे

शुक्रबार, १० असार २०७९, ११ : ५५ मा प्रकाशित

काठमाडौंमा हैजा र फुड प्वाइजनिंग फैलिँदै, यसबाट कसरी जाेगिने ?

गर्मी मौसम सुरू भएसँगै पछिल्लो समय काठमाडौंमा हैजा, फुड प्वाइजनिंग, आउँलगायतका राेग फैलिएको छ । यसै विषयमा यसबाट कसरी जाेगिने भन्ने बारे जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले एक लेख सार्वजनिक गरेका छन् ।

यी अवस्थाबाट बच्नको लागि तलका उपाय अपनाउनुहोला :

१. सबै प्रकारको पानी ( धारा, इनार, ट्यांकर, जार, मिनरल वाटर आदि ) फिल्टर गरेर तथा १० मिनेट भकभक उमालेर ( Rolling boil ) मात्र पिउनुहोला | कतै जाँदा घरको पानी बोतलमा बोकेर जानुहोला |

२. सकभर बाहिर खाना तथा खाजा नखानुहोला | खानु परेमा किचेन, भाँडा, पकाउने व्यक्ति आदि सफा भएको ठाउँमा मात्र खानुहोला | सकभर पानीको प्रयोग नहुने खाजा खानुहोला |

३. तरकारी राम्रोसँग पखालेर तथा पूर्ण पाकेको मात्र सेवन गर्नुहोला |

४. मासु सफा ठाउँमा मात्र किनेर तथा राम्रोसँग पकाएर मात्र खानुहोला |

५. फलफूल राम्रोसँग धोएर, ताछेर मात्र खानुहोला |

६. धेरै बालबालिका पौडी खेलेपछि ( स्विमिंग गरेपछि ) बिरामी भएका छन् | हाम्रा पौडी खेल्ने ठाउँमा पर्याप्त पानी आउने / जाने व्यवस्था छैन | स्विमिंग पुलमा पिशाबको मात्रा अत्यधिक हुन्छ | शरीरको मयल, जुठो आदि हुने नै भयो | त्यस्तो पानीबाट हैजा, झाडावान्ता, हेपाटाइटिस ए, टाइफाइड ज्वरो, छालाका रोग आदि सर्ने सम्भावना अत्यधिक हुन्छ | तसर्थ यो वर्षा महिनामा पौडी नखेल्नुहोला |

७. वर्षाको पानीले एकठाउँको फोहोर अर्को ठाउँमा पुर्याएको हुन्छ | हाम्रा जुत्ता तथा गाडीको टायरमा फोहोरको रस टाँसिएको हुनसक्छ | तसर्थ घरमा आएपछि जुत्ता, चप्पल, टायर राम्रोसंग पखालेर तथा जुत्ता / चप्पल बाहिर राखेर मात्र घरभित्र पस्नुहोला |

८. दुधलाई राम्रोसंग उमालेर मात्र सेवन गर्नुहोला |

९. यदि दिनमा ३ पटक वा सो भन्दा बढी पटक पखाला लाग्यो वा पातलो दिसा भयो भने जीवनजल, सादा पानी, सुप, दालको रस प्रशस्त मात्रामा सेवन गर्नुहोला | हैजादेखि अन्य झाडावान्तामा शरीरमा पानीको मात्रा कम भयो भने जोखिम बढ्ने हो | तसर्थ प्रशस्त झोलिलो खाने, नजिकको स्वास्थ्य संस्थामा गएर औषधि खाने गर्नुहोला |

१०. हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट हुने भएकोले उक्त ब्याक्टेरिया एन्टिबायोटिकले मर्दछ | हैजामा मान्छेको मृत्यु ब्याक्टेरियाको कारणभन्दा जल बियोजन ( Dehydration ) को कारणले हुन्छ | तसर्थ औषधि तथा प्रशस्त पानी, जीवनजल सेवन गरेमा अस्पताल जानु पर्दैन |

११. पानी तथा जीवनजल पर्याप्त मात्रामा खान नसकेमा, चौलानी पानीजस्तो पातलो पखाला लागेमा, मुख सुकेमा, छाला चिसो भएमा, पिशाब कम भएमा तथा बिरामी गलेमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोला | यस्ता बिरामीलाई सलाइनबाट उपचार गर्नुपर्ने हुन्छ | जल बियोजनको कारण अन्य अंगमा ( किड्नी आदि ) असर परेमा आइसीयुमा राखेर उपचार गर्नुपर्ने हुन्छ |

१२. समयमै उपचार गरेमा हैजा तथा अन्य झाडावान्ताबाट मृत्यु हुने सम्भावना निकै कम हुन्छ | यी रोग फिको ओरल अर्थात दिशाजन्य हात र मुखको सम्पर्कबाट हुने भएकोले हात पटकपटक धुने, स्यनिटाइज गर्ने, साबुनपानीले मिचिमिची हात धोएर मात्र खाना खाने, हातलाई मुखमा राख्ने बेला हात सफा हुनुपर्ने आदि बानीको बिकास गर्नुपर्दछ | हैजा भए नभएको दिशाको कल्चर गरेर पत्ता लाग्दछ |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको