Like us!
Follow us!
Connect us!
Watch us!

पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिने

अर्थ संसार

आइतबार, १२ असार २०७९, १४ : ४६ मा प्रकाशित

पिपरा गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिने

बीमा समितिको आयोजनामा यही असार ११ गते (हिजो) मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले कृषि तथा पशुपन्छी बीमामा आगामी साउन १ गतेदेखि नै लागू हुनेगरी गाउँपालिकाले थप अनुदान उपलब्ध गराउने जानकारी दिएका छन् ।

अध्यक्ष यादवले सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कृषि तथा पशुपन्छी बीमामा बाँकी रहने २० प्रतिशतमा कति अनुदान दिने भन्ने सम्बन्धमा बोर्डबाट निर्णय गरेर साउन १ गतेदेखि नै उपलब्ध गराउने बताए ।

उनले कृषि तथा पशुपन्छी बीमा गरेपछि क्षति भएमा बीमा दाबी पाउने सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै कृषकले गाउँमा नै बीमा गर्न पाउने गरी बीमा कम्पनीहरूलाई खटाउन बीमा समितिसँग आग्रह गरेका छन् ।

कार्यक्रमको सभापतित्व गर्दै बीमा समितिका निर्देशक दिनेश कुमार लालले बीमाको परिचय, बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र समाजमा पछि परेका समुदायलाई समेत बीमाको दायरामा ल्याउन स्थानीय तहले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी दिए ।

निर्देशक लालले गाउँ गाउँमा पुगेर कृषि तथा पशुपन्छी बीमा विस्तार गर्न बीमा समितिले जिल्ला समेत तोकेर विभिन्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको जानकारी दिँदै तोकिएको समयमा बीमा दावी भुक्तानी नपाएमा वा बीमा सम्बन्धी कुनै समस्या परेमा समितिमा जानकारी दिन आग्रह गरेका छन् ।

कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, विभिन्न बीमा कम्पनीका शाखाका कार्यालयका कर्मचारीहरू, कृषक, महिला लगायतको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको