Like us!
Follow us!
Connect us!
Watch us!

भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा जुत्ताचप्पल किन्नेको भिड

अर्थ संसार

सोमबार, १३ असार २०७९, १२ : ५६ मा प्रकाशित

भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा जुत्ताचप्पल किन्नेको भिड

धादिङ घर भएका हाल काठमाडौंको भक्तपुरमा बस्दै आएका रामसुन्दर श्रेष्ठ भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा भेटिए । श्रेष्ठ मेलामा जुत्ता छान्दै थिए । श्रेष्ठले आफूलाई मात्र चुत्ता किनेनन् उनका दुई छोरालाई पनि जुत्ता किने । श्रेष्ठले सस्तो, आकर्षक र बलियो जुत्ता भएकोले आफूलाई मात्र नभएर छोराहरुलाई समेत किनेको बताए । 

श्रेष्ठ जस्तै ललितुर बस्ने खेम खत्री पनि श्रीमतीलाई लिएर जुत्ता किन्न भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा आएका थिए । खत्रीले आफू र श्रीमती दुवै जनाले जुत्ता किनेको सुनाए ।

यी दुई त एउटा उदाहरण मात्र हुन् । हिजोआज काठमाडौंको भृकुटीमण्डपको सानो चौरमा लागेको जुत्ता चप्पल मेलामा जुत्ताचप्पल किन्नेको भिड लाग्दै आएको छ । 

काठमाडौंको भृकुटी मण्डपमा जारी वृहत जुत्ता चप्पल मेलामा जुत्ताचप्पल खरिद गर्नेहरुको भिड बढ्दै गएको छ । मेलामा हजारभन्दा मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुटमा किन्न पाइने भएकाले सर्वसाधारणको भीड बढेको हो ।

मेलाका संयोजक रामहरि तोलाङ्गका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर बिक्री गर्न व्यवसायीहरू सहमत भएकाले जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन सकिएको हो ।  “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भन्नुभयो ।

मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईँले जानकारी दिए । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उनको भनाई छ ।

मेलामा भेटिनु भएका बानेश्वरका बासिन्दा सुरेश श्रेष्ठले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको बताए । उनले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न सपरिवार आएको जानकारी दिए । विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउँदै उनले भने, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मूल्य पनि सस्तो छ ।”

“विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरूको मानसिकता छ, त्यो गलत र भ्रम पूर्ण हो, विदेशीहरूभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छन्,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीले भनिन् ।

नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उहाँले सबैलाई आग्रह गरिन् ।

अन्यत्र २५ सय रुपैयाँ पर्ने जुत्तालाई मेलामा आफूले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफूले अवसरको रुपमा लिएको ज्ञवालीको भनाई छ । मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राहकहरूको भिड लागेको पाइएको छ ।

62b95905937ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको