Like us!
Follow us!
Connect us!
Watch us!

मूल्य बढ्दा पनि घटेन माग, चालु आर्थिक बर्षमा २ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पत्रपत्रिका

बुधबार, १५ असार २०७९, ०७ : ३० मा प्रकाशित

मूल्य बढ्दा पनि घटेन माग, चालु आर्थिक बर्षमा २ खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ  ।  गत  वर्षको  तुलनामा  सवारीसाधनको  प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका  प्रवक्ता  विनितमणि  उपाध्यायका  अनुसार  पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उनले भने, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ ।

२०७८ असार ९ मा प्रतिलिटर १२७ रुपियाँ रहेको पेट्रोलको मूल्य बढेर २०७९ असार ५ मा आइपुग्दा हालसम्मकै उच्च प्रतिलिटर १९९ रुपियाँसम्म पुुगेको थियो । गत वर्षको सोही समयमा ११० रुपियाँ प्रतिलिटर रहेको डिजेलको मूल्य असार ५ सम्म आइपुग्दा १९२ रुपियाँ पुुगेको थियो ।

मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि गत शनिबार कर कटौती गर्ने गरी सरकारले पेट्रोल लिटरमा २० रुपियाँ र डिजेलमा २९ रुपियाँ घटाइएको थियो । हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपियाँ र डिजेल प्रतिलिटर १६३ रुपियाँ कायम छ । एक वर्षकै अवधिमा डिजेल लिटरमा ८२ र पेट्रोल ७२ रुपियाँ मूल्य बढेको छ ।

बढ्दो सवारीसाधनको प्रयोग र विकास निर्माणको कामले गर्दा डिजेल पेट्रोलको खपत १० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ  । यातायात व्यवस्था विभागका अनुसार मुलुकभर  करिब ४० लाख सङ्ख्यामा सवारीसाधन रहेका छन् । निगमका अनुसार चालू आवको साउनदेखि जेठ महिनासम्म दुई खर्ब ८१ अर्ब ६१ करोड  रुपियाँ बराबरको २७ लाख ९२ हजार ४२७ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास हवाई इन्धन, ग्यास) आयात भएको छ । कुुल आयातमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षभर एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूूल्य बढेकाले झन्डै दोब्बर रकमको आयात भएको हो । 

चालू आवको ११ महिनामा सबैभन्दा धेरै डिजेल एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपियाँ बराबरको १५ लाख २६ हजार २३२ किलोलिटर आयात भएको छ । यस्तै ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपियाँ बराबरको छ लाख ४७ हजार ११० किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै सो अवधिमा ५९ अर्ब १६ करोड  ६४ लाख सात हजार रुपियाँ बराबरको चार लाख ६६ हजार  ९७१ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङक छ । यस्तै १४ अर्ब ३४ करोड ७८ लाख एक हजार रुपियाँ बराबरका एक हजार ९७० किलोलिटर मट्टितेल र १२ अर्ब ८८ करोड २८ लाख ११ हजार रुपियाँ बराबरको एक लाख  ३७  हजार  १४४  किलोलिटर  हवाई  इन्धन  आयात भएको छ ।

गोरखापत्र दैनिकमा समाचार छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको