नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको आइतबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६२ रुपैया तोकेको छ । यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस