नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।
मूल्य समायोजनपछि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गका उपभोक्ताका लागि प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपैयाँ र तेस्रो वर्गका लागि १५७ रुपैयाँ निर्धारण गरिएको छ। यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ कायम गरिएको छ।
निगमले देशभर रहेका डिपोहरूलाई तीन वर्गमा विभाजन गरेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा पर्दछन्। सुर्खेत र दाङ डिपो दोस्रो वर्गमा, काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएको छ। यो मूल्य डिपोदेखि १५ किलोमिटरसम्मको परिधिभित्र लागू हुनेछ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८ पैसा र डिजेलमा २ रुपैयाँ ८० पैसा घटेर आएको हुँदा नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य समायोजन गरेको स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस