अर्थ संसार, काठमाडौं – नेपाल सरकारले ३ वर्ष अघिबाट शुरू गरेको स्वास्थ्य बीमा कार्यक्रममा महिलाको आकर्षण बढी देखिएको छ ।
हालसम्म १४ ओटा जिल्लामा सञ्चालित यो कार्यक्रममा कुल बीमितको ५२ दशमलव ७२ प्रतिशत महिला छन् । पुरुषको तुलनामा महिलाको सङ्ख्या करीब साढे ५ प्रतिशतले बढी देखिएको छ ।
स्वास्थ्य विभागको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत गरिँदै आएको यो बीमा कार्यक्रममा हालसम्म १ लाख १२ हजार २ सय ८२ जना सहभागी भएका छन् ।
त्यसमध्ये ५९ हजार १ सय ९८ जना महिला छन् भने ५३ हजार ८४ जना ९४७ दशमलव २७ प्रतिशत पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।
सरकारले देशव्यापी गर्ने लक्ष्य लिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म सञ्चालित कैलाली, बागलुङ, इलाम, रोल्पा, जुम्ला, जाजरकोट, तनहुँ, चितवन र मकवानपुर जिल्लामा पुरुषभन्दा ५ दशमलव ४४ प्रतिशत (६ हजार १ सय १४ जना) बढी महिला सहभागी भएको तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य सामाजिक सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा। गुणराज लोहनीका अनुसार महिलालाई परिवारमा स्वास्थ्य बीमाको आवश्यकता महसूस बढी भएर सहभागिता बढेको हुनसक्छ । यसबाहेक महिलाका लागि स्वास्थ्य सेवा धेरै भएकाले र स्वास्थ्य बीमा परिचयपत्र लिएर सहुलियतमा उपचार गर्न पाउने भएकाले महिलाहरूको आकर्षण बढेको उनको भनाइ छ ।
‘नेपाल सरकारले गरीबीको परिचयपत्र छ भने दर्ता सहयोगीलाई देखाएमा अति गरीबलाई शतप्रतिशत, गरीबलाई ७५ प्रतिशत र सिमान्तकृत गरिबलाई ५० प्रतिशत छूट योगदान रकममा छूट पाइने व्यवस्था गरेकाले पनि यसमा महिलाले आफूलाई सुरक्षित ठानेको हुनसक्छ ।’ उनले थप्दै भने,‘ पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रममा प्रायः महिला सशक्त तथा सचेत भएको देखिन्छ । स्वास्थ्य बीमाले दिने सुविधाले गर्दा महिलालाई यसबारे निर्णय लिन सजिलो भएकाले पनि आकर्षण बढेको हो ।’
सरकारले बजेट भाषणमा समेत ३ वर्षभित्र देशव्यापी स्वास्थ्य बीमा गरिने घोषणा गरेलगत्तै असारदेखि थप सातओटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भनिए पनि ६ ओटा जिल्लामा थपेर सञ्चालन गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः देशव्यापी गर्न रोल्पा, जुम्ला, जाजरकोट, तनहुँ, चितवन, मकवानपुर जिल्लामा विस्तार गरेको छ ।
नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यअनुरूप राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ अनुसार आर्थिक वर्ष २०७२/७३ मा कैलाली, बागलुङ र इलाम जिल्लाबाट शुरू गरिएको थियो ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अनुसार विसं २०७२ चैतबाट कैलालीमा शुरू भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी कास्की जील्लामा २४ दशमलव ८ प्रतिशतले बीमा गरेका छन् । यसैगरी पाल्पा जिल्लामा २१ दशमलव ३ प्रतिशतले बीमा गरेका छन् भने इलाममा १३ दशमलव ३ प्रतिशतले बीमा गरेका छन् ।
यस्तै क्रमशः कैलालीमा १० दशमलव ८ प्रतिशतले, बागलुङमा १० दशमलव ७ प्रतिशत, म्याग्दीमा ४ दशमलव २ प्रतिशत, भक्तपुरमा ३ दशमलव ७ प्रतिशत र चितवनमा ३ दशमलव ४ प्रतिशतले बीमा गरेका छन् ।
यसैगरी, बैतडीमा २ दशमलव ३ प्रतिशत, अछाममा १ दशमलव ६ प्रतिशत, जाजरकोटमा १ दशमलव ६ प्रतिशत, तनहँुमा शून्य दशमलव ९ र मकवानपुरमा शून्य दशमलव ८ प्रतिशतले बीमा गरेका छन् भने सबैभन्दा कम जुम्लामा शून्य दशमलव ५ प्रतिशतले बीमा गरेका छन् ।
जुम्ला, जाजरकोट, तनहुँ, चितवन, मकवानपुरलगायत केही जिल्लामा असारदेखि उक्त कार्यक्रम सञ्चालन भएकाले बीमा गर्नेको सङ्ख्या कम भएको स्वास्थ्य सामाजिक सुरक्षा विकास समितिको भनाइ छ ।
आर्थिक वर्ष २०७४/७५ को बजेट भाषणमा झैं सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेटमा आगामी ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने घोषणा गरेको थियो ।
बीमा कार्यक्रममा सहभागी हुन पाँच जनाको परिवारले वार्षिक २ हजार ५ सय तिर्नुपर्ने हुन्छ । साथै, यसमा प्रतिव्यक्ति १ सय रुपैयाँ वार्षिक बीमाशुल्क तिरेर ५० हजार रुपैयाँसम्मको बीमा गर्न सकिन्छ । वार्षिक १ सय रुपैयाँ तिर्दा ५० हजार रुपैयाँसम्मको उपचार खर्च पाइन्छ ।
यो रकम तिरेबापत रू. ५० हजारसम्मको निःशुल्क स्वास्थ्योपचार सेवा पाइन्छ । पाँच जनाभन्दा बढीको परिवारले प्रतिसदस्य रू। ४ सय ५० दरले थप बीमाशुल्क तिर्नुपर्ने हुन्छ ।
यो कार्यक्रमले दक्ष चिकित्सक, प्रयोगशाला र १ सय ४० प्रकारका औषधि नागरिकलाई उपलब्ध गराउँदै आएको छ । कार्यक्रमअनुसार क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल तथा हेड इञ्जुरी भएमा ५० हजार रुपैयाँसम्म थप स्वास्थ्योपचार सेवा दिइनेछ ।
तर, यो बीमा योजनामा कस्मेटिक अङ्गहरू राख्ने, कृत्रिम गर्भाधान, व्यक्तिगत झैझगडा र मादक पदार्थ सेवन गरी भएका दुर्घटनालाई भने समावेश गरिएको छैन । यो बीमा रकमको लागि परिवारले दैनिक ७ रुपैयाँ जम्मा गर्दा १ वर्षको लागि तिर्नुपर्ने योगदान रकम जम्मा हुन्छ । प्रत्येक सदस्यले सेवा लिन जाँदा आफ्नो परिचयपत्र अनिवार्य लिएर जानुपर्ने आजको अभियानमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस