Like us!
Follow us!
Connect us!
Watch us!

नास्डाकमा फ्युजमेसिन्सको पहिलो दिन : १२ लाखभन्दा बढी सेयर कारोबार, मूल्य भने घट्यो

अर्थ संसार

शनिबार, ०८ कार्तिक २०८२, ०८ : ३६ मा प्रकाशित

नास्डाकमा फ्युजमेसिन्सको पहिलो दिन : १२ लाखभन्दा बढी सेयर कारोबार, मूल्य भने घट्यो

नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स इन्क (Fusemachines Inc.) को शेयर कारोबार शुक्रबार अमेरिकी पूँजी बजार नास्डाक (NASDAQ) मा औपचारिक रूपमा सुरु भयो। पहिलो दिनको व्यापारले नेपाली प्रविधि उद्यमशीलताको ऐतिहासिक उपस्थिति त दर्ज गरायो, तर बजारमा कम्पनीको शेयर मूल्य अपेक्षाभन्दा कम दरमा बन्द भयो।

फ्युजमेसिन्सको शेयरले नास्डाकको ग्लोबल मार्केट (NASDAQ-GM) मा “FUSE” नामबाट कारोबार सुरु गर्‍यो।
पहिलो दिनको कुल कारोबार १२ लाख २३ हजार ४९० (1,223,490) सेयरमा सीमित रह्यो।

बजार खुल्दा शेयर मूल्य ४ डलरमा रहेको फ्युजमेसिन्सको शेयर पहिलो दिनको अन्त्यमा घटेर २.७३ डलरमा बन्द भयो, जसअनुसार १.२७ डलर (३१.७५ प्रतिशत) गिरावट आएको हो।

बौद्धिक कृत्रिमता  प्रविधिमा आधारित फ्युजमेसिन्सले करिब दुई वर्षअघि अमेरिकी कम्पनी CSLM Acquisition Corp. सँग गरेको मर्जर प्रक्रिया सम्पन्न गरेपछि कम्पनीले अब “FUSE” नामबाट नास्डाकमा कारोबार सुरु गरेको हो।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समीर मास्केले नास्डाक प्रवेशलाई नेपाली उद्यमशीलताको ऐतिहासिक सफलता भनेका छन्।
उनका अनुसार, “सानो समूहबाट सुरु भएको हाम्रो यात्रा आज विश्व बजारमा पुगेको छ। यो उपलब्धिले हामीलाई अझ नयाँ नवप्रवर्तन र फराकिलो दृष्टिकोणका लागि प्रेरित गर्नेछ।”


नेपालीका लागि गर्वको क्षण

फ्युजमेसिन्स हाल करिब ३५० जना कर्मचारीसहित सञ्चालनमा छ, जसमा २६० जना नेपालमै कार्यरत छन्।
नेपाल मूलका उद्यमीले विश्वकै प्रतिष्ठित वित्तीय बजारमा प्रवेश गरेको यो पहिलो अवसर भएकोले यो दिनलाई “नेपाली प्रविधि क्षेत्रको माइलस्टोन” मानिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि डा. मास्केलाई बधाई दिँदै लेखेका छन् —
“आज NASDAQ मा फ्युजमेसिन्सको शेयर कारोबार सुरु भयो। टाइम्स स्क्वायरमा डा. समीर मास्केसँग भेट हुँदा गर्वको अनुभूति भयो। उहाँ नेपाली नवप्रवर्तकहरूको प्रेरणा बन्नुहुनेछ।”


कम्पनीको संरचना र नेतृत्व

मर्जरपछि कम्पनीको प्रमुख वित्तीय अधिकृत (CFO) क्रिस्टिन च्याम्बर्स रहेकी छन्।
सञ्चालक समितिमा डा. समीर मास्के, भरत क्रिस, टिम गोचर, सञ्जय श्रेष्ठ, र सलमान आलम रहेका छन्।

फ्युजमेसिन्सको बजार प्रवेशले विश्वव्यापी स्तरमा Artificial Intelligence आधारित सेवा र समाधान प्रविधि विकासमा नेपालीको योगदानलाई अन्तर्राष्ट्रिय पहिचान दिलाएको विश्लेषण गरिएको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको