Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयको आनाकानीमै छानबिन समितिको तीन दिन बित्यो, पाएन सीसीटीभी फुटेज

पत्रपत्रिका

शुक्रबार, ३१ असार २०७९, ०७ : ३५ मा प्रकाशित

अर्थ मन्त्रालयको आनाकानीमै छानबिन समितिको तीन दिन बित्यो, पाएन सीसीटीभी फुटेज

अनधिकृत व्यक्तिले बजेटमार्फत करका दरमा चलखेल गरेको बेलाको सीसीसीटीभी फुटेजलगायत कागजात संसदीय छानबिन विशेष समितिले समयमा पाउन सकेको छैन। समितिले बिहीबार दिउँसो २ बजेभित्र ती कागजात उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनेको थियो। तर, ती कुनै पनि प्राप्त नभएको समिति सचिव सुरेन्द्र अर्यालले बताए। 

‘हामीले बिहीबार दिउँसोसम्म उपलब्ध गराउन भनेका थियौं। तर, मागेको कुनै पनि वस्तु अहिलेसम्म पाउन सकिएको छैन’, सचिव अर्यालले भने। 

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्राविधिक समस्या आएको भन्दै सीसीटीभी तथा कागजात उपलब्ध नगराएको जनाइएको छ। मन्त्रालयको आनाकानीमै समितिको तीन दिन बितेको छ। यो समितिले गठनको एक सातापछि मात्रै काम थालेको थियो। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकै दिन असार २२ गते छानबिन समिति गठन गरिएको थियो। उसले असार २७ मा काम थालेको हो। शुक्रबारदेखि दु्रतगतिमा काम अगाडि बढाउने कार्यतालिका बनेको थियो। तर, सीसीटीभी र आवश्यक कागजात नपाएपछि अन्योल भएको जनाइएको छ। 

समितिले शुक्रबार १० बजे बैठक बस्ने, माग गरिएको कागजातसहित सीसीटीभीको अध्ययन गर्ने, १२ बजे अर्थसचिवसहित कर्मचारीसँग सोधपुछ गर्ने, ५ बजे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने कार्यतालिका बनाएको थियो। तर, त्यसअनुसार पहिलो काम नै हुन नसक्ने अवस्था आएको छ। हालसम्म भन्नलायक ठूलो उपलब्धि हात नपरेको अर्यालले बताए। ‘तीन दिन सकियो। अब सात दिन मात्रै छ। त्यसैले शुक्रबारदेखि घनिभूत रूपमा लाग्ने योजना छ’, उनले भने, ‘तर, अहिलेसम्म आवश्यक कागजात नै प्राप्त भएको छैन।’ 

समिति सभापति चयन नभएकाले ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बैठक बस्दै आएको छ। अर्यालले अब सात दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्ने गरी काम गर्ने सहमति भएको बताए। 

अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव ढुण्डीप्रसाद निरौलाले यो विषयमा समितिले छानबिन गरिरहेको मात्रै आफूलाई जानकारी भएको बताए। भने, ‘समितिले छानबिन गरिरहेको जानकारी छ। तर, प्रक्रियागत कुरा मलाई थाहा छैन। चिठी आएको छ÷छैन भन्ने मलाई थाहा छैन।’  

अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको