Like us!
Follow us!
Connect us!
Watch us!

रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

अर्थ संसार

मंगलबार, ०३ साउन २०७९, १५ : ३१ मा प्रकाशित

रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको  छ ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटवार्तामा चेम्बरले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्याहरु सम्बाेधन हुन नसकेको बताएका थिए । 

धितोपत्र सम्बन्धी ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ लाई संशाेधन गर्ने सम्बन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गरे । उनले भने, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुख ज्यूलाई आग्रह गर्दछु।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गरे । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गराए । संघीय निर्वाचन अघि अर्थतन्त्रसँग जोडिएका सबै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताए ।

चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए । सभामुख सापकोटाले भने, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसंग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्बन्धमा सम्बन्धित समितिका सभापतिहरुसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताए । सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको