Like us!
Follow us!
Connect us!
Watch us!

२३ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा, २३ वटाको बढ्दा ३ वटा मात्रको घट्यो

पत्रपत्रिका

आइतबार, २२ साउन २०७९, ०८ : ०० मा प्रकाशित

२३ प्रतिशत बढ्यो वाणिज्य बैंकहरुको नाफा, २३ वटाको बढ्दा ३ वटा मात्रको घट्यो

तरलता अभाव तथा आर्थिक गतिविधि सुस्ताए पनि गत आर्थिक वर्ष (आव) मा बैंकहरूको नाफा भने बढेको छ । गत आवको चौथो त्रैमासमा व्यवसाय प्रभावित भए पनि पहिलो, दोस्रो र तेस्रो त्रैमासमा गरेको व्यवसाय विस्तारबाट बैंकहरूको नाफामा सकारात्मक प्रभाव परेको हो ।

वाणिज्य बैंकहरूले प्रकाशित गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणले उनीहरूको नाफा २३ दशमलव १४ प्रतिशतले बढेको देखाएको हो । अघिल्लो आव २०७७/७८ मा ६० अर्ब ७४ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेका बैंकहरूले आव २०७८/८९ मा ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

केही बैंकको वित्तीय विवरण नकारात्मक भए पनि समग्र बैंकको नाफा सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । ‘केही बैंकको मात्र नाफा घटेको छ, समग्रमा बैंकिङ उद्योगको नाफा दर गतवर्षभन्दा राम्रो देखिएको छ ।’ आव २०७७/७८ मा बैंकहरूको नाफा अघिल्लो आवको दाँजोमा २० प्रतिशतले बढेको थियो ।

गत आवमा सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ कमाएको छ । यसैगरी ग्लोबल आइएमई बैंकले ५ अर्ब २० करोड, नबिलले ४ अर्ब ९७ करोड, एनआईसी एशियाले ४ अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेण्टले ४ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका छन् ।

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको १ अर्ब ३५ करोड छ । यस्तै सिभिलले १ अर्ब ३८ करोड, लक्ष्मीले १ अर्ब ६० करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ६३ करोड र बैंक अफ काठमाण्डूले १ अर्ब ८१ करोड नाफा गरेको छ । कम भए पनि सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ । अघिल्लो आवको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ ।

गत आवमा कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको